logo
२०८१ बैशाख ८ शनिवार



दुई चिनी गोदाममा सिलबन्दी

अर्थ |


दुई चिनी गोदाममा सिलबन्दी


सीता शर्मा

काठमाडौँ, साउन २० गते । केही दिनदेखि चिनीको भाउ अस्वाभाविक वृद्धि भएको छ । बजारमा चिनी आयात कम भएको कारण देखाउँदै हाल चिनी प्रतिकेजीमा १० देखि १५ रुपियाँसम्म वृद्धि भएको छ ।
बजार नियमनकारी निकायको नियमन प्रभावकारी नहुँदा पनि भाउ बढेको हो । मूल्य वृद्धिका लागि खुद्रा व्यापारीले थोक व्यापारीलाई र थोक व्यापारीले उद्योगीलाई दोष पन्छाउँदै आएका छन् । त्यसको प्रत्यक्ष मारमा भने सर्वसाधारण उपभोक्ता परेका छन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार दुई साताको बीचमा चिनी प्रतिकेजी १५ रुपियाँसम्म महँगो भएको छ । साउनको पहिलो सातासम्म प्रतिकेजी ८० रुपियाँ खुद्रा मूल्यमा किनबेच भएको चिनी अहिले ९० देखि ९५ रुपियाँसम्म पर्दछ । अध्यक्ष राजकुमार श्रेष्ठले हाल अस्वाभाविक रूपमा चिनी महँगो हुनुको कारण अन्य नभएर सरकारकै दोष रहेको दाबी गर्नुभयो । उहाँले चिनी उद्योगीले जे भन्छन् सरकारले त्यही मान्ने गरेकाले चिनी व्यापारीले बजारमा चिनी लुकाएर महँगोमा बिक्री गर्दासमेत सरकार रमिते बनेको बताउनुभयो ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले पनि सरकारकै कमजोरीका कारण बजारमा अहिले चिनीको भाउ महँगो भएको बताउनुभयो ।
बजार अनुगमन गर्ने जिम्मा पाएका वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले केही दिनदेखि चिनी महँगो भएको भन्ने गुनासो आएका आधारमा बजार अनुगमन भइरहेको र दुईवटा चिनी गोदामै सिलबन्दी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विभागले कालीमाटी तथा कुलेश्वर क्षेत्रका दुईवटा खाद्य गोदाम सिल गरेको छ ।
कालीमाटीको एएसएस मार्केटिङ र अर्को एक खाद्य भण्डारमा चिनी शङ्कास्पद भण्डारण पाइएपछि सिलबन्दी गरेको महानिर्देशक सुवेदीले जानकारी दिनुभयो । विभागका अनुसार एएसएस मार्केटिङमा भेटिएको १६ क्विन्टल चिनी खरिद गरेको विवरण र बिक्रीको विवरण नमिलेको देखाइएको र गोदाममा हेर्दा चिनीको मात्रा नमिलेकाले प्रहरीको रोहवरमा गोदाम सिलबन्दी हो ।
त्यस्तै विभागले अर्को एक गोदाममा चिनी भेटिएको तर गोदामधनी सम्पर्कमा नआएपछि उक्त गोदामलाई पनि सिल गरेर धनीलाई कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?