logo
२०८१ बैशाख ७ शुक्रवार



सप्तरीको लौनियाँ टोलमा ३१ जना सङ्क्रमित

फिचर |


सप्तरीको लौनियाँ टोलमा ३१ जना सङ्क्रमित


धीरेन्द्रप्रसाद साह

राजविराज, साउन १९ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा वडा नं. २ लौनियाँ टोलमा एकै दिन २५ जनामा कोरोना सङ्क्रमण भेटिएको छ । उक्त वार्डमा मात्रै सङ्क्रमित सङ्ख्या ३१ पुगेको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाको यस वडासँगै गाउँपालिकामा सङ्क्रमितको सङ्ख्या ७९ पुगेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो । गाउँपालिकामा आइतबार थपिएको २५ जना सङ्क्रमितमध्ये लौनियाँ गाउँको कपाल काट्ने ठाकुर, चियानस्ता पसलका साहु, पान पसलका साहु, लागुऔषध कारोबारी रहेको बताइएको छ ।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा विष सेवन गरी उपचारका लागि भर्ना भएका लौनियाका ५० वर्षीय पुरुषमा गत साउन ९ गते कोरोना भेटिएको थियो । उहाँकै सम्पर्क ट्रयाकिङ र ट्रेसिङ गर्दा आइतबार समुदायका २५ जनामा सङ्क्रमण पाइएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनुभयो ।

अस्पतालमा उहाँको उपचारमा खटिएका आकस्मिक कक्षमा कार्यरत राजविराज -३ का दुई स्वास्थ्यकर्मीमा समेत आइतबार सङ्क्रमण पुष्टि भएको छ । यसअघि नै एक स्वास्थ्यकर्मी र उहाँका (बिरामी) परिवारका पाँच जना र सम्पर्कका एक व्यक्तिमा सङ्क्रमण पुष्टि भइसकेको छ ।

भारत बिहारको कुनौली बजारमा किनमेलमा बढी निर्भर रहेका लौनियाँवासीको दैनिक ओहरदोहर हुने गरेको कारण त्यतैबाट सङ्क्रमण भित्रिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवको ठहर छ । सङ्क्रमित बिरामीको यात्रावृतान्त नै यस्तो रहेको उहाँले भन्नुभयो, 'उहाँबाटै सिङ्गो बस्ती सङ्क्रमित भएको हो ।'

भारतको कुनौली बजार नियमित आवतजावत गर्नेहरूका कारण सङ्क्रमणको चपेटा परेको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले कुनौली नाकामा भइरहेको आवतजावतलाई कडाइका साथ रोक्न स्थानीय प्रशासनसँग लिखित रुपमै अनुरोध गरेको बताउनुभयो ।

गाउँपालिकाले प्रवाह गर्ने अत्यावश्यक सेवाबाहेक र गाउँपालिकाभित्रका गुद्री हाट बजार पनि अनिश्चितकालको लागि बन्द गरिएको बताइएको छ ।

यस्तै, राजविराज नगरमा पनि सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा वडा नं. ७ स्थित गुद्री हटिया र वडा नं. ६ सिरहारोड अनिश्चितकालको लागि प्रवेशमा निषेध गरिएको छ । जिल्लामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५२४ पुगिसकेको छ । नगरमा पनि सङ्क्रमितको सङ्ख्या थपिँदैगएपछि राजविराज नगरपालिकाले गत ७ गते लकडाउन र जिल्ला सुरक्षा समिति सप्तरीले गत ८ गतेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरेको छ ।

यस्तै, जिल्लाको अवस्थालाई मध्यनजर गरी खडक, डाकनेश्वरी, बोदे बर्साइन, हनुमाननगर कङ्कालिनी नगरपालिका, कृष्णसवरण, तिलाठी कोइलाडी गाउँपालिकालगायतले पनि लकडाउन घोषणा गरेका छन् । ती स्थानीय तहहरूले सूचना जारी गरी हाट, बजार, मेला अर्को सूचना नभएसम्म आयोजना नगर्न भनिएको छ ।

सङ्क्रमित ३४० जना निको

जिल्लाको विभिन्न स्थानीय तहका सङ्क्रमितमध्ये ४६ महिलासहित ४७२ जना कोभिड–१९ विशेष आइसोलेसन केन्द्रमा भर्ना भएको बताइएको छ । तीमध्ये २८ महिलासहित ३४० जना कोरोनालाई जितेर घर फर्किसकेको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले जानकारी दिनुभयो । हाल १८ महिलासहित १३२ जना आइसोलेसनमा उपचाररत रहेको उहाँले बताउनुभयो । जिल्लामा हालसम्म सङ्क्रमतिको सङ्ख्या ५२४ पुगेको छ । एक दर्जन बढी सङ्क्रमितहरू होम आइसोलेसनमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?