logo
२०८० चैत्र १५ बिहीवार



निजी अस्पतालको उपचार शुल्क निर्धारण

मुख्य समाचार |


निजी अस्पतालको उपचार शुल्क निर्धारण


सरोज ढुङ्गेल

काठमाडौँ,  साउन १६ गते । निजी अस्पतालले कोरोना भाइरस रोगको उपचार गरेबापत शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालले कोरोना उपचार गराए बापतको रकम तोकेको हो ।
सङ्क्रमित व्यक्ति र अस्पतालको समेत सहमतिमा उपचार गर्न चाहेको खण्डमा मन्त्रालयले तहगत रूपमा दररेट तोकेको हो । तह एक, दुई र तीन गरी मन्त्रालयले प्रतिदिन लिन पाउने शुल्क तोकेको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सङ्क्रमित व्यक्ति र अस्पतालको सहमतिमा तह एक, दुई र तीन श्रेणीको अस्पताल तोकेर सङ्क्रमित व्यक्ति सामान्य अवस्थामा भए प्रतिदिन तीन हजार पाँच सय, मध्यम खालको अवस्थामा सात हजार र जटिल अवस्था भए १५ हजारसम्म रुपियाँ लिन पाउने गरी शुल्क तोकिएको बताउनुभयो । कोरोना उपचारका लागि सूचीकृत नभएका तर शङ्कास्पद बिरामीको पीसीआर जाँच गर्नुपर्ने अवस्था भएमा सम्बन्धित अस्पतालले १० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।

थप २७४ जनामा कोरोना
यसैबीच बिहीबार नेपालमा थप २७४ जनालाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २७४ जनामा कोरोना पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २२७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएपछि मृतकको सङ्ख्या ५२ पुगेको छ । वीरगञ्जका दुई र मोरङका एक जनाको साउन १४ गते उपचारका क्रममा मृत्यु भएको हो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?