logo
२०८० चैत्र १६ शुक्रवार



विद्यालय खोल्ने गृहकार्य

शिक्षा |
मुख्य समाचार |


विद्यालय खोल्ने गृहकार्य
सांकेतिक तस्बिर


नगेन्द्र सापकोटा

काठमाडौँ, साउन १२ गते । स्थानीय तहले आउँदो भदौदेखि कोरोना भाइरस सङ्क्रमणको जोखिम नभएका क्षेत्रमा विद्यालय खोल्ने आन्तरिक तयारी थालेका छन् । विद्यार्थीलाई मास्क अनिवार्य र सेनिटाइजर विद्यालयले व्यवस्था गर्र्ने गरी नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले यस्तो आन्तरिक तयारी थालेका हुन् ।
गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले स्थानीय तहको परिस्थितिअनुसार विद्यालय खोल्ने तयारी गर्न विद्यालयलाई आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार सबै विद्यालयलाई खोल्न आग्रह गरिएको छैन, स्थानीय तहमा कोरोना भाइरसको सङ्क्रमण नभएको, स्थानीय स्वास्थ्यकर्मी र शिक्षाविद्सँग आवश्यक परामर्श गरेर मात्र विद्यालय खोल्ने तयारी भइरहेको छ ।
सामाजिक दूरी कायम राख्ने कुरा चुनौतीपूर्ण भए पनि स्वास्थ्य सेवाका अन्य मापदण्ड पूरा गरेर भदौदेखि विद्यालय खोल्न सकिन्छ । विद्यालयमा कक्षा सञ्चालन नभए पनि सबै स्थानीय तहले विद्यालय प्रशासन यसअघिदेखि नै सञ्चालन गरी विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने काम भइसकेको श्रेष्ठले बताउनुभयो । नेपाल नगरपालिका सङ्घका महासचिव भीम ढुङ्गानाले स्थानीय तहका विद्यालयमा रहेका क्वारेन्टाइन क्रमशः खाली हुँदै गएकाले परिस्थितिअनुसार विद्यालय खोल्ने आन्तरिक तयारी भएको बत(ाउनुभयो । उहाँका अनुसार क्वारेन्टाइनका रूपमा राखिएका विद्यालयको कक्षाकोठा निर्मलीकरण गर्ने काम भइरहेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले नेपालका ४३ प्रतिशत विद्यालयमा सय जनाभन्दा कम विद्यार्थी भएकाले विद्यालय खोल्दा खासै भीडभाड नहुने बताउनुभयो । उहाँका अनुसार कम विद्यार्थी भए पनि कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन भने नियमित सावधानी अपनाउनुपर्ने हुन्छ । यसका लागि कार्यविधि समेत बनाउने तयारी भइरहेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?