logo
२०७७ असोज ११ आईतवार

बच्न सकिन्छ सर्पदंशबाट

मुख्य समाचार |


2020-07-26-19191


चाँदनी हमाल

काठमाडौँँ, साउन ११ गते । सावधानी अपनाए सर्पको डसाइको जोखिमबाट बच्न सकिन्छ । सर्पदंश हुन नदिने प्रयाससँगै सावधानी जरुरी रहेको जानकारले औँल्याउनुुभएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल विभाग प्रमुख तथा विश्व स्वास्थ्य सङ्गठनको सर्पविज्ञ समूहका सदस्य डा. सञ्जीव शर्मा सर्पदंशमा सबैलाई विषालु सर्पले डसेको हुँदैन । कतिपयमा विषालु सर्पले विष प्रवाह गर्दैन । सर्पले आत्मरक्षामा डस्दा मात्र विष छाड्छ । त्यसैले अस्पताल आएका ९० प्रतिशत बिरामीमा विष हुन्न । बाँकी १० प्रतिशतमा समयमै उपचार गर्न सके बचाउन सकिन्छ भन्नुहुन्छ । चिकित्सक शर्माको भनाइ अनुसार कडा विष भएको गोमन सर्पले एक्कासि मानिसलाई डस्दैन । मानिसले चलाउँदा स्वर निकालेर तर्साउँछ । टेरेनन् भने मात्र डस्छ । पहिलो डसाइमा उसले विष छाड्दैन । चलाइरह्यो भने दोस्रो पल्ट विषसहित डस्ने गर्छ ।
कडा विष भएको करेतले प्रायः मानिस सुतेका ठाउँमा र जम्काभेट भएका ठाउँमा डस्छ । तराईमा हुने अत्यधिक करेतको डसाइ राति भुइँमा खुला सुतेका व्यक्तिमा हुने गरेको पाइएको छ । सानो सर्पलाई मानिसको हात, खुट्टा वा शरीरले थिच्दा चोट लाग्छ । राति टोकेको थाहा नपाउँदा बिहान बिरामीको अवस्था पक्षघात जस्तो हुन्छ । जसलाई बचाउन कठिन पर्छ । करेतबाट बच्न खाटमा झुल हालेर सुत्ने र टोकेको शङ्का लागेमा तत्काल अस्पताल जानुपर्छ । करेतले टोकेको चिह्न देखिन्न तर गोमनले टोक्दा घाउ देखिन्छ ।
तराईमा बाघे सर्पको बिगबिगी यहीबेला हुन्छ । यसले टोकेमा शरीरमा रक्तस्राव हुन्छ । समयमै उपचार नपाए रगतको कम हुने र दिमागमा रगत जमेर बिरामीको मृत्यु हुन्छ । पहाडतिर पाइने हरेउ सर्पको डसाइमा विष कम हुुन्छ । यसको टोकाइबाट सुन्निने, दुख्ने, रक्तस्राव हुने र टोकेको ठाउँ कुहिएर झर्ने सम्भावना हुन्छ । हिमालमा पाइने हिमालयन करेतमा पनि कडा विष हुन्छ । हिमालको सर्पमा विष हुन्न भनेर लापरबाही नगर्न उहाँ सुझाउनुहुन्छ ।

सर्पले डस्दाको असर
विषालु सर्पले डसेपछि शिरको भागदेखि असर सुरु हुने चिकित्सक शर्मा बताउनुहुन्छ । विषका कारण स्नायुतन्त्रले काम गर्न नसकी पक्षघात गराउँछ र बिरामीको मृत्यु हुन्छ । आँखा उघार्न नसकी लोलाउँदै जाने, जिब्रो निकाल्न नसक्ने, घाँटीमा स्नायु बिग्रँदा थुक, ¥याल मुखमै जम्मा हुने, निल्न नसक्ने हुन्छ । मानिसको छातीमा असर गर्न थालेपछि श्वासप्रश्वास रोकिएर मृत्यु हुन्छ । यस अवस्थामा कृत्रिम श्वासप्रश्वाससहित भेन्टिलेटरमा राख्ने र मिर्गौलाको डायलासिस गर्नुपर्छ । यतिबेला तराईमा बाढी, डुबान हुँदा सर्प र मानिस दुवै बाँच्न सुक्खा ठाउँको खोजीमा छन्् । आफ्ना परिवारलाई उच्च स्थानमा सुरक्षित बस्ने र उपचार गर्न तत्काल जानुको विकल्प नरहेको उहाँले बताउनुभयो । सर्प देखेमा छोप्ने, उद्धारकर्ता बोलाउने र सुरक्षात्मक उपाय अपनाउनुपर्छ । सर्पले डसेमा डसेको ठाउँमाथि कपडाले बाँधेर विष प्रतिरोध दिएपछि मात्र हटाउनुपर्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलका अनुसार मध्य मनसुनको ६० दिन सर्पदंशको उच्च जोखिमको समय हो । सर्पदंश उपचार केन्द्रलाई सक्रिय तुल्याउँदै एन्टिभेनम पर्याप्त मात्रामा पु¥याइएको छ । सन्देशमूूलक थप सूचना दिने तयारी भइरहेको जानकारी उहाँले दिनुभयो । तराईका २३ जिल्लामा गरिएको अध्ययनले वर्षभर ४० हजार जनालाई सर्पले डस्छ । नेपालमा झन्डै २१ प्रजातिका विषालु सर्प पाइन्छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बर्सेनि सर्पको डसाइबाट एक हजारको मृत्यु हुन्छ । विगत एक महिनामा नौ जनाको सर्पको डसाइले मृत्यु भएको छ । गत वर्ष ३७ को मृत्यु भएको सरकारी तथ्याङ्क छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?