logo
२०८० चैत्र १६ शुक्रवार



सङ्क्रमितको सङ्ख्या कम हुँदै, आइसोलेसनमा १७ जना

प्रदेश |


सङ्क्रमितको सङ्ख्या कम हुँदै, आइसोलेसनमा १७ जना
सांकेतिक तस्विर


गाेरखापत्र अनलाइन
गोरखा,असार ३१ गते । गोरखामा कोरोना सङ्क्रमणको दर घट्दैगएको छ । सङ्क्रमण कम र निको हुने दर बढी भएसँगै यहाँका आइसोलेसन खाली हुन थालेका छन् ।

विगत एक साता यता न्यून सङ्ख्यामा सङ्क्रमण देखिएको छ । मङ्गलबार एक र बुधबार एक गरी दुई जना सङ्क्रमित थपिएका छन् । हालसम्म कुल १०२ जनामा सङ्क्रमण देखिएको यहाँ मङ्गलबारसम्म ८५ जना निको भएका छन् । मङ्गलबार मात्र २५ जना कोरोनामुक्त भएसँगै घर गएका छन् । क्वारेन्टाइनसहितको आइसोलेसन केन्द्र गोरखा क्याम्पस गोरखाले दिएको जानकारी अनुसार चार महिला र २१ पुरुषको दोश्रो रिपाेर्ट पनि नेगेटिभ आएपछि उनीहरूलाई घर पठाइएको हो ।

भीमसेन गाउँपालिकाका चार महिला र १३ पुरुषमा गरी १७ जना, पालुङ्टार नगरपालिकाका दुई, शहीद लखन गाउँपालिकाका तीन पुरुष, बारपाक सुलिकोट गाउँपालिकाका एक र सिरानचोक गाउँपालिका निवासी दुई पुरुष कोरोनामुक्त भएका हुन् । उनीहरूलाई १४ दिन होम क्वारेन्टाइनमा बस्न र केही समस्या आए स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरी घर पठाइएको गोरखा नगरपालिकाका स्वस्थ्य शाखाका निश्चल अर्यालले जानकारी दिनुभयो । योसँगै यसअघि उपचार गराइरहेका १५ र थपिएका दुई गरी १७ जना आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिनुभयो ।

उनीहरूको गोरखा क्याम्पस र जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको उहाँले बताउनुभयो । पछिल्लो रिपाेर्ट अनुसार कोरोना भाइरसको पहिचानका लागि दुई हजार ८० जनाको पीसीआर परीक्षण गरिएको छ । जसमा एक हजार ५७९ जनाको रिपाेर्ट नेगेटिभ आएको छ । अब ४०१ जनाको रिपाेर्ट आउन बाँकी छ । सङ्क्रमणका कारण कतारबाट फर्किएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?