logo
२०८० चैत्र १५ बिहीवार



पाँच लाख घरको पुनर्निर्माण सम्पन्न

राष्ट्रिय |


पाँच लाख घरको पुनर्निर्माण सम्पन्न


गाेरखापत्र अनलाइन

काठमाडौँ, असार २५ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ ।

सङ्घीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच लाख सात हजार ६२३ घरको पुनर्निर्माण सम्पन्न भएको र दुइ लाख दुइ हजार ६४३ घर पुनर्निर्माणको क्रममा रहेको बताउनुभयो ।

घर पुनर्निर्माणका लागि सात लाख ८६ हजार १४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा छन् । 

भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोक जिल्लामा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोट जिल्लामा ६४ हजार १२४ र २०७२ वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले छ लाखभन्दा बढी गुनासाहरू सम्बोधन गरेको जानकारी दिँदै प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने बताउनुभयो । उहाँले भूमिहीन र सुकुम्बासी लाभग्राहीका बारेमा सबै टुङ्गो लागिसकेको र जोखिमयुक्त बस्ती स्थानान्तरणका लाभग्राहीलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन भएको जानकारी दिनुभयो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएकोमा भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्तीहरू बन्दै गरेको बताउनुभयो ।

समितिको बैठकमा प्राधिकरणले विद्यालय पुनर्निर्माण, पुरातात्विक महत्त्वका सम्पदा, स्वास्थ्य संस्था, सरकारी भवन, सुरक्षा निकायका भवन पुनर्निर्माणबारे जानकारी गराएको थियो ।

समिति सभापति कल्याणीकुमारी खड्काले निजी आवास, विद्यालय पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै सम्पदा पुनर्निर्माणलाई अझ छिटो अघि बढाउन निर्देशन दिनुभयो । उहाँले प्राधिकरणको सयमावधिबारे छिट्टै टुङ्गो लगाउनुपर्ने बताउनुभयो ।

प्राधिकरणको म्याद आगामी पुसमा सकिंँदैछ । भूकम्पबाट प्रभावित संरचनाहरूको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्नसक्ने प्रावधान छ ।

बैठकमा सांसदहरूले गुम्बा पुनर्निर्माणमा विशेष ध्यान प्राधिकरणलाई आग्रह गर्नुभएको थियो । प्राधिकरणले ४०२ वटा गुम्बाको मर्मत सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने ११७ वटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको जनाएको छ ।

बैठकमा सांसदरू जिपछिरिङ लामा, यज्ञराज सुनुवार, रामबहादुर विष्ट,  गणेश पहाडी, रङ्गमती शाही, गणेश पहाडीले निजी आवास, सम्पदा, धरहरा, रानीपोखरी, सिंहदरबार पुनर्निर्माण लगायतबारे जिज्ञासा राख्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकास समिति लगायत सबैको सहयोगले पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल  भएको भन्दै राम्रा काममा अपनत्व लिन र कमीकमजोरी सुधारका लागि सुझाव दिन आग्रह गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?