logo
२०८० चैत्र १६ शुक्रवार



दुईजना गर्भवतीको हेलिकप्टरबाट सुर्खेत उद्धार

खुला |
समाज |


दुईजना गर्भवतीको हेलिकप्टरबाट सुर्खेत उद्धार
हेलिकप्टरबाट सुत्केरी बेथा लागेकी महिलाको उद्धार गरिँदै


राजन रावत
सिमकोट, असार २५ गते । जिल्लाको दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका वडा नम्बर ४ का दुई जना सुत्केरी बेथा लागेकी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

चार दिनदेखि बेथाले छटपटाएकी दुवै जना महिलाको जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकप्टरबाट सुर्खेत उद्धार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी चिरन्जीवि गिरीले चार दिनदेखि सुत्केरी बेथा लागेको भए पनि बिहीबार खबर आउनेबित्तिकै गृह मन्त्रालयको समन्वयमा हेलिकप्टरको व्यवस्था गरेर उद्धार गरिएको बताउनुभयो ।

यसरी सुत्केरी बेथा लागेर छट्पटाइरहनुभएकी ३५ वर्षकी हजारी शाही र २६ वर्षकी गम्भीरा शाही रहनुभएको मेल्छाम प्रहरी चौकीले जानकारी दिएको प्रहरी नायब निरीक्षक सूर्यप्रसाद सुवेदीले बताउनुभयो ।

सुत्केरीसँंगै एक जना ६१ वर्षका दम रोगका बिरामी जयबहादुर शाहीको पनि सोही हेलिकप्टरमा उद्धार गरिएको छ । उहाँहरू सबैलाई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङ्गबाट सिधै उद्धार गरिएको हो ।

हेलिकप्टर उद्धारका लागि लाग्ने खर्चको व्यवस्थाका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उद्धार कार्यक्रमबाट लागत व्यहोर्नका लागि जिल्ला प्रशासन कार्यालयले लेखी पठाएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?