logo
२०८० चैत्र १६ शुक्रवार



१० हजार घरपरिवारमा नमुना जनगणना

मुख्य समाचार |


१० हजार घरपरिवारमा नमुना जनगणना


शान्ति लामा

काठमाडौँ, असार २४ गते । केन्द्रीय तथ्याङ्क विभागले नमुना जनगणनामा १० हजार घरपरिवारको विवरण सङ्कलन गरेको छ । आगामी १२औँ राष्ट्रिय जनगणनाको तयारी स्वरूप नमुना जनगणना गरिएको हो । नमुना गणना क्षेत्र नक्साङ्कनका अनुसार ११ हजार ६१० घरपरिवारको सर्वेक्षण गर्ने लक्ष्य राखिएको थियो ।
कोरोना कहर र बन्दाबन्दीबीच तीन महिना ढिलो गरी भएको नमुना जनगणनामा ५० प्रतिशतजति सर्वेक्षण गर्न सकिने अनुमान गरिएको थियो । यसमध्ये तोकिएका ११ हजार ६१० मध्ये १० हजार घरपरिवारमा सफल सर्वेक्षण गरिएको छ । विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणना कार्यतालिका तथा सामग्री सुधारार्थ गरिएको नमुना जनगणनाको गणना कार्य गएको सोमबार सकिएको छ ।
‘मेरो गणना, मेरो सहभागिता’ मूल नारासहित हुने १२औँ राष्ट्रिय जनगणना २०७८ को परीक्षण सर्वेक्षणका रूपमा नमुना जनगणना गरिएको हो । महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीलाई सरकारले खुकुलो गर्नेबित्तिकै असार १ देखि नमुना जनगणना सुरु गरिएको थियो । निर्देशक लामिछानेले भन्नुभयो, “बन्दाबन्दी नभएको भए चैत ९ देखि नै सुरु हुनुपथ्र्याे । त्यसअघि नै गणक तथा सुपरिवेक्षक नियुक्त गरी तालिमसमेत दिइसकिएको हुनाले अहिले तुरुन्तै गणना सुरु गरी सहजै सम्पन्न गरेका छौँ । ”
अवस्था सामान्य नभइसकेको भए पनि केहीमा घरबाहेक सबैमा सहजै गणना कार्य भएको उहाँले बताउनुभयो । कतिपय घरमा किन आएको भनी प्रश्न गरिए पनि सबै ठाउँमा गणना प्रश्नावलीअनुसार विवरण सङ्कलनमा कुनै समस्या नआएको उहाँको भनाइ छ । गणकहरूलाई सामाजिक दूरीका नियम पालना गराई मास्क, सेनिटाइजरलगायत स्वास्थ्य सुरक्षा सामग्रीसहित गणना क्षेत्रमा पठाइएको थियो ।
बन्दाबन्दीका बेला सहरी क्षेत्रमा भाडामा बसेका मानिस आआफ्ना घर गएका कारण भाडामा बस्नेको विवरण भने सङ्कलन गर्न असमर्थ भएको उहाँले बताउनुभयो । नमुना जनगणनामार्फत गणना सामग्री, गणना क्षेत्र नक्साको शुद्धता, प्रश्नावली र निर्देशिका, जनशक्तिको पर्याप्तता, प्रविधि, जनगणना उपकरण र जनगणना प्रक्रियाको समीक्षा गरिने छ ।
निर्देशक लामिछानेका अनुसार केही दिनमै नमुना जनगणनाको नतिजा प्रतिवेदन तयार गरिने छ । त्यस प्रतिवेदनका आधारमा सर्वेक्षणको टेबुलेसन योजना, विषयगत प्रतिवेदन ढाँचाको तयारी, सरदर एक गणकले दैनिक गर्ने गणनाको अनुमानलगायत जनगणनाको मुख्य कार्यतालिकामा गर्नुपर्ने हेरफेरका विषयमा विचार गरिने छ ।
नमुना जनगणनाका लागि १५ जना सुपरिवेक्षक, ६० जना गणक र ४७ जना प्रशासनिक कर्मचारी गरी जम्मा १२२ जना जनशक्ति संलग्न थिए । सुपरिवेक्षक र गणकहरू करारमा नियुक्त गरिएका हुन् । सबै प्रदेश, हिमाल, पहाड, तराईको जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी नमुना जनगणना सञ्चालन गरिएको छ । प्रत्येक प्रदेशका दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमुना जनगणना सञ्चालन भएको निर्देशक लामिछानेले बताउनुभयो ।
प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडौँ, गण्डकी प्रदेशको बागलुङ र कास्की, प्रदेश ५ को रुपन्देही र प्युठान, कर्णालीको सुर्खेत र जुम्ला, सुदूरपश्चिम प्रदेशको कैलाली र दार्चुला जिल्ला नमुना जनगणनाका लागि छनोट गरिएको थियो । गणना गरिने वडाहरू भने केही सुगम र केही दुर्गम गरी छनोट गरिएको निर्देशक लामिछानेले जानकारी दिनुभयो ।

ट्याब्लेटको प्रयोग
आगामी राष्ट्रिय जनगणनामा कागज, कलम र ट्याब्लेट गरी मिश्रित खालको गणना विधि प्रयोग गर्ने केन्द्रीय तथ्याङ्क विभ(ागको योजना छ । त्यसको परीक्षण स्वरूप नमुना जनगणनामा केही क्षेत्रमा ट्याब्लेटमार्फत विवरण सङ्कलन गरिएको छ । निर्देशक लामिछानेका अनुसार ६० जना गणकमध्ये १५ जनाले ट्याब्लेट प्रयोग गरेका थिए । महानगर र उपमहानगरका छानिएका वडामा ट्याब्लेटमार्फत सर्वेक्षण गरिएको हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?