logo
२०८० चैत्र १६ शुक्रवार



सुनचाँदी पसलमा चाेरी गर्ने समूह पाँच महिनापछि पक्राउ

खुला |


सुनचाँदी पसलमा चाेरी गर्ने समूह पाँच महिनापछि पक्राउ


होमराज रानाभाट
गैँडाकोट असार १९ गते । गत फागुन १८ गते पूर्वी नवलपरासीको गैँडाकोटको काँग्रेस चोकमा सुन पसलमा भएको चोरीको घटनामा संलग्नहरू पाँच महिनापछि प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ ।
पूर्वी नवलपरासी गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित काँग्रेस चोकमा उमेश गहतराजले सञ्चालन गरेको मोनिका सुनचाँदी पसलमा अज्ञात व्यक्तिहरूले तयारी सुनका गरगहना ६९ तोला पाँच लाल र एक किलो चाँदी र सात लाख नगद चोरी भएको उजुरी परेको थियाे । प्रहरीले आज तीन अभियुक्तसहित चोरीका सामान र चोरीको समयमा प्रयोग गरिएका औजारहरू पनि सार्वजनिक गरेको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताउनुभयो ।

पक्राउ परेकाहरूमा दोलखा मेलुङ गाँउपालिका वडा नं. १ स्थायी घर भइ ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ५ टिकथली, राधाकृष्ण चोक बस्ने २४ वर्षका अनुज लामा, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ घर भई भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. ८ बस्ने २८ वर्षका तीर्थबहादुर रुम्बा र काभ्रेपलान्चोक धुलिखेल नगरपालिका वडा नं.२ घर भई भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल बस्ने ४० वर्षका जीतबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूबाट सुनका गरगहना १२ तोला ५ प्वाईन्ट, विभिन्न कम्पनीका मोबाइलहरू छ थान, सेफ लकर फोडिएको अवस्थामा फेला परेको एक थान, ठेला गाडा एक थान र एक थान स्कुटर रहेको प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताउनुभयो । साथै सेफ फोड्नका लागि प्रयोग भएका गल एक थान, घन एक थान, छिनो दुई वटा, टेस्टर सलाई रेन्ची एक वटा, सानो निलो बाल्टी एक वटा, ग्यास रेगुलेटरसहितको अक्सिजन सिलिण्डर एक वटा र सुन राख्न प्रयोग गरिने ट्रे छ थान रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गैँडाकोट, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखरा र महानगरिय अपराध महाशाखा काठमाण्डौँबाट खटिएका संयुक्त प्रहरी टोलीद्वारा उपलब्ध प्रविधिबाट घटना स्थलहरूमा अनुसन्धानको क्रममा देखिएका शङ्कास्पद मोबाइल नम्बर तथा जनशक्तिको माध्यमबाट चोरी गर्ने व्यक्तहरूको पहिचान भएको र पक्राउ परेकाहरूलाई चोरी मुद्दामा नवलपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको र घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास भई रहेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?