logo
२०८० चैत्र १६ शुक्रवार



श्रमिक उद्धार निर्देशिका तयार

खुला |


श्रमिक उद्धार निर्देशिका तयार


सीता शर्मा

काठमाडौँ, असार १६ गते । सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका तयार गरेर स्वीकृतका लागि सोमबार मन्त्रिपरिषद् पठाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार गरेको उक्त निर्देशिका मन्त्रिपरिषद्ले पारित गरेकै दिनबाट कार्यान्वयनमा आउने जनाइएको छ ।
श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले तयार गरिएको निर्देशिकामा श्रम स्वीकृति लिएर विदेश गएका र कोरोनाका कारण समस्या परे वा नपरेको पहिचान गरेर मात्रै वैदेशिक रोजगार कल्याणकारी कोषको रकमबाट उद्धार गरिने जानकारी दिनुभयो । साथै उहाँले अन्य प्रक्रियाबाट गएकालाई सरकारको अन्य शीर्षकको बजेट खोजेर उद्धार गरिने पनि जानकारी दिनुभयो ।
श्रम स्वीकृतिबाहेक अन्य प्रक्रियाबाट विदेश गएर कोरोनाका कारण समस्यामा परेका नागरिकलाई सरकारका विभिन्न शीर्षकका बजेटमार्फत १२ नेपालीको उद्धार गरिसकेका छौँ, प्रवक्ता घिमिरेले भन्नुभयो । यही असार १ गते सर्वोच्च अदालतले विदेशमा अप्ठ्यारोमा परेकामध्ये दूतावासले प्रमाणित गरेको हकमा वैदेशिक रोजगार बोर्डअन्तर्गतको कल्याणकारी कोषको रकमबाट स्वदेश फिर्ता गर्ने प्रबन्ध गर्न र त्यसका लागि निर्देशिका तयार गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो । श्रम मन्त्रालयले सर्वोच्चको आदेशानुसार श्रम सम्झौता गरेर गएका श्रमिकको खर्च बेहोरेर स्वदेश फर्काउने निर्देशिका बनाएको छ ।
श्रम मन्त्रालयका अनुसार श्रम स्वीकृति लिएर गएका श्रमिकले कोषमा जम्मा गरेको रकम पाँच अर्ब चार करोड रुपियाँ छ । निर्देशिका अनुसार कोषको रकमले श्रम स्वीकृति लिएर गएका वा करार अवधि सकिएका श्रमिकको मात्र उद्धार गरिने उल्लेख गरिएको छ । निर्देशिकामा श्रम सम्झौताअनुसार अलपत्र परेका श्रमिक फिर्ता नगर्ने कम्पनीमा पाँच वर्ष नेपाली श्रमिक पठाउन प्रतिबन्ध लगाउने पनि उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?