logo
२०८१ बैशाख १३ बिहीवार



खाडी मुलुकका उडान रद्द हुँदै

अर्थ |


खाडी मुलुकका उडान रद्द हुँदै


सीता शर्मा

काठमाडौँ, असार ३ गते । सरकारले विदेशमा समस्यामा परेका नागरिकलाई स्वदेश फिर्ताका लागि तय गरेका उडान एकाएक रद्द भएका छन् ।
सम्बन्धित देशमा रहेका दूतावासले प्राविधिक कारण देखाउँदै उडान धमाधाम रद्द गर्न थालेपछि यस्तो स्थिति आएको हो । सरकारले यसअघि तय गरेको कार्यतालिका अनुसार असार २ गते संयुक्त अरब इमिरेट्स (यूएई), कतारमा रहेका नेपाली स्वेदश फर्किनु पर्ने हो । तर ती देशमा रहेका राजदूतावासले उडानहरू रद्द गर्दा त्यहाँ रहेका नेपाली स्वदेश फर्कन सकेका छैनन् । मङ्गलबारसम्म खाडी मुलुबाट पाँचवटा उडान रद्द भएका छन् ।
साउदी अरबबाट असार १ गते वा सोमबार हुने भनेको हिमालयन एयरलाइन्सको उडान रद्द भएको छ । दूतावासले प्राविधिक समस्याले उडान रद्द भएकाले रोकिएको उडान असार ४ गते हुने जनाएको छ । सरकारले साउदीमा समस्यामा परेका नेपालीलाई ल्याउन असार १ गते, ४ गते, ५ गते र १० गते उडान हुने तय भएको थियो । अरू उडानबारे दूतावासले अहिले जानकारी दिएको छैन ।
यस्तै मलेसियाबाट असार १ गते वा सोमबार हुने भनिएको उडान पनि प्राविधिक समस्या देखाउँदै रद्द भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)बाट असार २ गते र ४ गते वा यही मङ्गलबार र बिहीबारका लागि तय गरिएका उडान पनि दूतावासले सूचना निकालेर रद्द भएको जानकारी गराएको छ । दूतावासको सूचनामा नेपाल एअरलाइन्सले त्यहाँ समस्यामा परेका नेपाली नागरिकको स्वदेश फिर्ताका लागि तय भएका चार्टर्ड उडान प्राविधिक कारणले रद्द भएको यूएईस्थित नेपाली दूतावासले जनाएका छन् । यूएईमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ताका लागि असार २ गते, ४ गते, ६ गते र असार ९ गते उडान तालिका तय भएको थियो । मङ्गलबारको उडान रद्द भइसकेकाले पछिल्ला उडानमा पनि असर पर्ने देखिन्छ ।
कतारको दोहाबाट मङ्गलबार र बुधबार हुने चार्टर्ड उडान रद्द भएको छ । कतारमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ताका लागि तय भएको उडान प्राविधिक कारणले रद्द भएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । अर्को उडान कहिले हुने भन्ने दूतावासले खुलाएको छैन । यसअघिको तालिका अनुसार २ गते, ३ गते, ६ गते र ८ गतेका लागि समय तय गरिएको थियो । यस्तै बहराइनबाट त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तय भएको असार ३ गते वा बुधबारको उडान पनि असार असार ७ गते हुने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ । ओमानमा समस्यामा परेका नेपाली १६६ जना नेपाली दूतावासको तालिका अनुसार सोमबार फर्किएका छन् । दोस्रो उडान असार ४ गते हुने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?