logo
२०८१ बैशाख ८ शनिवार



अलपत्र कामदारको पीडा : सङ्कटमा पर्दासमेत महँगो भाडा तिर्नुप-यो

मुख्य समाचार |


अलपत्र कामदारको पीडा : सङ्कटमा पर्दासमेत महँगो भाडा तिर्नुप-यो


सीता शर्मा

काठमाडौँ, जेठ ३१ गते । कुवेतबाट शुक्रबार थप १४९ जना नेपाली महिला स्वदेश फर्किएका छन् । कुवेतको जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको उडानमार्फत सात बालबालिकासहित १४९ जना नेपाली महिला स्वदेश फर्किएका हुन् । कुवेतमा आममाफी पाएर केही समयदेखि अस्थायी क्याम्पमा बस्र्दै आएका उनीहरू कुवेत सरकारकै खर्चमा स्वदेश फर्किएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले कुवेतबाट बालबालिका र महिला लिएर आएको विमान शुक्रबार बिहान ११ः२८ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको जानकारी दिनुभयो । कुवेत सरकारले बिहीबार २९९ महिलालाई आफ्नै खर्चमा नेपाल ल्याइदिएको थियो ।
गैरकानुनी रूपमा कुवेत बसेर आममाफी पाएका नेपाली महिला श्रमिकलाई कुवेत सरकारले नेपाल पठाएको हो । कुवेतले नेपालीका लागि गएको अप्रिल २६ देखि ३० सम्म चार दिन आममाफीको समय दिएको थियो । यो चार दिनमा आममाफीमा सहभागी झन्डै तीन हजार जनालाई कुवेतले आफ्नै जहाजमार्फत नेपाल ल्याइदिन लागेको हो । कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा अस्थायी क्याम्पमा राखेको थियो । खाद्यान्नसहित आवश्यक कुराको व्यवस्था पनि कुवेत सरकारले नै गरेको छ । हाल अस्थायी क्याम्प र डिपार्टटेसन सेन्टरमा दुई हजार ९९१ नेपाली छन् । जसमा एक हजार ६८८ पुरुष र एक हजार ३०३ महिला रहेका छन् । त्यहाँ रहेका ४४८ महिला स्वदेश फर्किसकेका छन् । कुवेतस्थित नेपाली दूतावासका अनुसार कुवेत सरकारले यी सबै नेपाली नेपाली फर्काउन कम्तीमा २० उडान गराउने तयारी गरिएकामा तीनवटा उडान आए अब १७ वटा उडान आउने छन् । कुवेतबाट प्राथमिकतामा परेका नेपालीलाई ल्याउनका लागि अर्को उडान असार २ गते, ५ गते, ७ गते र १० गते हुने तय भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण विदेशमा दुःख पाएका नेपालीलाई स्वदेश ल्याउनलाई सरकारले तोकेको भाडादर चर्को भएको भन्दै आलोचना हुन थालेको छ । सरकारले विमान चार्टर्ड गरेर ल्याउँदा महँगो हुने भन्दै सामान्य अवस्थामा भन्दा दोब्बर भाडा लिने निर्णय गरेको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) कतारले विभिन्न देशबाट समस्यामा परेका नागरिकलाई सरकारले आफ्नै खर्चमा उद्धार गर्नुपर्नेमा उल्टै सामान्य अवस्थामा चार गुणा बढी भाडादर तोकेको भन्दै आपत्ति जनाएका छन् ।
एनआरएन कतारका प्रवक्ता सन्तोष क्षेत्रीले विदेशमा रोजगारी नै गुमाएर खर्चविहीन भएका नागरिकलाई सरकारले भाडाको व्यवस्था आफैँ गरी उद्धार गर्न सरकारसँग माग गर्नुभयो ।
विदेशमा समस्यामा परेर मुस्किलले स्वदेश फर्किएका व्यक्तिले आफू पीडामा पर्दासमेत भाडादर महँगो बनाएर थप पीडा दिएको गुनासो व्यक्त गरेका छन् । सरकारले समस्यामा परेका नागरिकलाई स्वदेश फर्काउन तोकेको भाडादर अत्यधिक भएकाले तत्काल परिमार्जन गरेर मात्रै नागरिक लैजान सरकारसमक्ष आग्रह गर्नुभयो । सरकारले तोकेको कतारको दोहादेखि काठमाडौँसम्मको भाडादर ५४५ अमेरिकी डलर तोकेको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?