logo
२०८० चैत्र १६ शुक्रवार



वुहान ल्याबका प्रमुख भन्नुहुन्छ – हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन

फिचर |
अन्तर्राष्ट्रिय |


वुहान ल्याबका प्रमुख भन्नुहुन्छ – हाम्रो प्रयोगशालाबाट भाइरस बाहिरिएको छैन


न्यूयोर्क, जेठ ११ गते । कोरोनाभाइरसको विश्वव्यापी महामारी मध्य चीनको वुहान इन्स्टिच्यूट अफ भाइरोलोजीबाट प्रारम्भ भएको भन्ने ट्रम्प प्रशासनको दाबी “पूर्णतः बनावटी र मनगढन्ते” रहेको इन्स्टिच्यूटका निर्देशकले दाबी गर्नुभएको छ ।
निर्देशक वाङ यीले आइतबार राज्यसञ्चालित सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, “इन्स्टिच्यूटलाई यो भाइरसबारे यसअघि न त कुनै ज्ञान थियो न हामीले सामना गरेका थियौँ, न अनुसन्धान गरिएको वा यो भाइरस हामीले राखेका थियौँ । हामीलाई भाइरसको अस्तित्वको बारेमा पनि थाहा थिएन । हामीसँगै हुँदै नभएको कुरा कसरी हाम्रो ल्याबबाट बाहिरियो ?”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश मन्त्री माइक पोम्पेओले वुहानमा भेटिएको भाइरस वुहान प्रयोगशालाबाटै कुनै तरिकामा बाहिर छाडिएको भन्दै निरन्तर दाबी गरिरहनुभएको छ ।

धेरैजसो वैज्ञानिकहरूले ५४ लाख व्यक्तिमा सङ्क्रमित भइसकेको तथा तीन लाख ४४ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको यो कोरोनाभाइरस चमेरोबाट मानिसमा सङ्क्रमित भएको दावी गरिरहेका छन् । यो भाइरस वुहानमा जथाभावी बेचिने वन्यजन्तुको मासुबाट मानिसमा सरेको हुनसक्ने उनीहरूको भनाइ छ ।
पछिल्ला दिनहरूमा यस भाइरसले एसिया र विश्वका अन्य भागहरूमा प्रभाव सिर्जना गर्न थालेको छ । चीनमा आइतबार तीन जनामा सङ्क्रमण देखिएको छ भने चीनमा कोविड–१९ को उपचार गराइरहेका बिरामीको सङ्ख्या ७९ जना मात्र छ ।
दी न्युयोर्क टाइम्सले आइतबारको पूरै पहिलो पृष्ठमा महामारीमा ज्यान गुमाउने व्यक्तिहरूको नामको लामो सूची छापेको छ । अमेरिकामा करिब एक लाखको मृत्यु हुन लागेको र यो एक अपूर्व नोक्सान हो भन्दै उक्त अखबारले विशेष महत्वका साथ कतिपय निधन भएका व्यक्तिको जीवनी छापेको छ ।
“यो फगत नामावली मात्र होइन । उनीहरू हामीजस्तै मानव थिए,” उपशीर्षकमा भनिएको छ । अष्ट्रेलियामा अधिकारीहरूले ६० लाख बासिन्दाहरूले मोबाइल एप डाउनलोड गरेका बताएका छन् । यस एपको मद्दतबाट स्वास्थ्य अधिकारीहरूलाई कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन सहयोग पुग्नेछ । सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले कोविड–सेफ एपको अनुप्रयोगले अस्ट्रेलियामा कोरोनाभाइरस नियन्त्रणमा निकै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
संयुक्तराज्य अमेरिकामा सावधानीपूर्वक राज्यहरू एकपछि अर्को खोल्ने क्रमलाई निरन्तरता दिइएको छ । वासिङ्टनको स्पोकेनमा रहेको एउटा पास्ता कम्पनीले आफ्नो प्लान्टमा कोरोना फैलिएको जनाएको छ भने अलास्का बेसबल लिगले आफ्नो ग्रीष्मकालीन प्रतियोगिता रद्द गरेको छ ।
मेमोरियल डे सप्ताहान्तका अवसरमा ट्रम्पले शनिबार गल्फ खेल्नुभएको थियो । उहाँले अमेरिकी राज्यहरूलाई लकडाउनलाई सहज बनाउन आग्रह गर्नुभएको छ । यद्यपि धेरै अमेरिकीहरू कोविड–१९ बाट सतर्क देखिएका छन् किनभने राष्ट्रव्यापी पुष्टि भएका घटनाहरूको सङ्ख्या १६ लाख नाघिसकेको छ ।

क्यालिफोर्नियामा धेरै व्यवसाय र मनोरन्जन गतिविधिहरू फेरि खुल्न थालेका छन् भने लस एन्जलस काउन्टीका अधिकारीहरूले जुलाई ४ तारिखसम्म कडा प्रतिबन्ध कायम राख्ने बताएका छन् ।
न्यूयोर्कमा पहिलोपटक धेरै हप्तापछि कोरोनाभाइरसबाट दैनिक मृत्यु सबैभन्दा कम अर्थात् ८४ जनाको मृत्यु भएको छ । एकपटक अप्रिल ८ मा यस राज्यमा एकै दिन ७९९ जनासम्मको ज्यान गएको थियो ।
करिब एक लाख ५५ हजार सङ्क्रमित देखिएको टर्कीले रमजानको दिनमा पनि कडा लकडाउन जारी राखेको छ । यमनका हुथी विद्रोहीहरूले धार्मिक कार्यमा मास्कको प्रयोग गर्न र घरभित्र बस्न आग्रह गरेका छन् ।
कोरोनाभाइरस नियन्त्रणमा प्रशंसनीय कार्य गरेको जर्मनीको उत्तरपश्चिममा रहेको एउटा रेष्टुरेन्टमा सात जनामा सङ्क्रमण भएको देखिएको छ । दुई हप्ताअघि रेष्टुरेन्टहरू खोलिएपछि यो पहिलो घटना हो ।
ल्याटिन अमेरिका भाइरसको नयाँ केन्द्रविन्दुका रुपमा प्रकट भएको छ । विज्ञहरूले सरकारी कार्यको सीमितताका कारण सङ्क्रमण व्यापक रुपमा फैलिएको बताएका छन् । यी मुलुकमा लाखौँ मानिस अनौपचारिक रोजगारीमा छन् र उनीहरू सबैलाई नियन्त्रणमा राख्नु प्रहरीका लागि फलामको च्युरा चपाएसरह हो ।
ब्राजिल र मेक्सिकोमा यस हप्ता लगभग दैनिक सङ्क्रमण र मृत्युको रेकर्ड सङ्ख्या देखिएको छ । लकडाउनप्रति खासै चासो नदिएको भन्दै यी दुवै मुलुकका राष्ट्रपतिमाथि चौतर्फी आलोचना भइरहेको छ । पेरू, चिली र इक्वेडरको स्वास्थ्य सेवामा ठूलो समस्या देखिएको छ ।
भारतमा दैनिक ६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भेटिएसँगै यहाँ चिन्ता बढेको छ । भारतमा दुई महिनादेखि जारी लकडाउन खुकुलो बनाएसँगै सङ्क्रमितको सङ्ख्या नाटकीय रुपमा बढेको छ ।
केही देशमा सङ्क्रमणको दोस्रो लहर देखिँदैछ । युरोपमा पछिल्लो पटक नराम्रोसँग प्रभावित रूसले भाइरस प्रसार रोक्न विशेष कदम चालिरहेको छ तर शनिबार एकै दिन नाै हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप