logo
२०८१ बैशाख १३ बिहीवार



बैतडीका थप चार जनामा कोरोना पुष्टि, अस्पताल डाक्टरविहीन, परीक्षण गर्ने किट छैन

खुला |
फिचर |


बैतडीका थप चार जनामा कोरोना पुष्टि, अस्पताल डाक्टरविहीन, परीक्षण गर्ने किट छैन
थुनुवामा कोरोना देखिएपछि प्रहरीको स्वाब लिँदै स्वास्थ्यकर्मी



गोकर्ण दयाल
बैतडी, जेठ १० गते । गौरीफन्टा नाका भएर नेपाल आएका बैतडीका थप चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार एक थुनुवामा कोरोना पुष्टि भएको थियो ।

भारतबाट गौरिफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका बैतडीको शिवथान गाउँपालिकाका चार जनाको पीसीआर परीक्षण गर्दा शनिबार कोरोना पुष्टि भएको हो । उहाँहरुलाई कैलीलीस्थित प्रादेशिक सेती अस्पतालको आईसोलेसनमा राखिएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय, बैतडीको हिरासतमा रहेका एक २३ वर्षीय युवामा कोराना पुष्टि भएको थियो । थुनुवामा कोरोना देखिएपछि जिल्ला प्रहरी कार्यालय, बैतडी सिल गरेर प्रहरीको स्वाब सङ्कलन गर्न किट अभाव भएको छ । किट अभाव हुँदा शनिबार ३३ जना प्रहरीको मात्रै स्वाब सङ्कलन गरेर धनगढी पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीमा २८० जना प्रहरी भए पनि किट नहुँदा पहिलो चरणमा ३३ जना प्रहरी, जिल्ला अदालत र सरकारी वकिलको कार्यालयका ११ जना गरी कुल ४४ जनाको स्वाब सङ्कलन गरिएको जिल्ला अस्पताल बैतडीका डा. वशन्तराज जोशीले बताउनुभयो ।
किट अभाव हुँदा पहिलो चरणमा ३३ प्रहरी र ११ जना अदालत र सरकारी वकिल कार्यालयका कर्मचारीको स्वाब सङ्कलन गरिएको डा. जोशीले बताउनुभयो ।

बैतडी अस्पताल डाक्टरविहीन, स्वाब सङ्कलन गर्ने किटसमेत छैन
तीन जना डाक्टरको दरबन्दी रहेको बैतडी अस्पताल दुई वर्षदेखि दरबन्दीका डाक्टर छैनन् । सङ्घीय सरकारले बैतडी पठाएका तीन जना डाक्टर पनि २२ दिन बसेर बैतडीबाट काठमाडौं फर्किएपछि बैतडी अस्पताल डाक्टरविहीन बनेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा रहेका थुनुवामा कोरोना पुष्टि भएपछि प्रहरीको स्वाब सङ्कलन गर्न किट समेत अभाव भएको छ ।

आइसोलेसन बेड पनि अभाव
कोरोना सङ्क्रमित बढिरहे पनि बैतडीमा जम्मा तीन वटा मात्र आइसोलेसन बेड रहेका छन् ।

जिल्ला अस्पताल बैतडीमा जम्मा तीन वटा मात्र बेड रहेको जिल्ला अस्पताल बैतडीका निमित्त प्रमुख डा. वशन्तराज जोशीले बताउनुभयो ।

सरकारले समयमै आइसोलेसन सहितको अस्पताल बनाउन ध्यान लिनुपर्ने डा. जोशीले बताउनुभयो । होटल अथवा विद्यालयको भवन प्रयोग गर्न सकिने गरी आईसोलेसनसहितको अस्पताल बनाउन स्थानीय तहको सरकारले पनि ध्यान दिनु पर्ने डा. जोशीले बताउनुभयो ।

भेन्टिलेटर र ल्याब स्थापना अन्यौलमा

सुदूरपश्चिम प्रदेश सरकारले बैतडी अस्पतालमा भेन्टिलेटर र ल्याब स्थापना गर्ने निर्णय गरे पनि एक महिनादेखि निर्णय कार्यान्वयन हुन सकेको छैन ।

जिल्ला अस्पताल बैतडीमा डाक्टर मात्र होईन, स्वास्थ्य परीक्षण गर्ने प्रर्याप्त किटसमेत छैन । भेन्टिलेटर र ल्याब स्थापना गर्ने कुरा पनि कार्यान्वयन हुन सकेको छैन ।

ज्वरो नापेर झुलाघाट नाकाबाट ३८० जना भित्रिए
यसैबीच, भारतका विभिन्न सहरमा रहेका ३८० जना नेपाली शुक्रबार झुलाघाट नाकाबाट ज्वरो आए नआएको चेकजाँच गरेर बैतडी भित्रिएका छन् । नाकाबाट चार जना किरियापुत्रीसहित ३८० जना बैतडी भित्रिएका हुन् ।

प्रमुख जिल्ला अधिकारीको सरुवा
यसैबीच, कोेरोना भाइरसको महामारी फैलिन नदिन जिल्लामा गठन गरिएको सङ्कट व्यवस्थापन समितिका अध्यक्ष एवं बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको सरुवा भएको छ ।

बैतडीमा एकातिर कोरोना देखिनु, अर्कोतिर अस्पतालमा चिकित्सक नहुनु, सीमा नाकाबाट भारतमा रहेका नेपालीको घुईंचो लाग्नु र सङ्कट व्यवस्थापन समितिमा अध्यक्ष एवं प्रमखु जिल्ला अधिकारीको सरुवा हुँदा कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न थप चुनौती थपिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?