logo
२०८० चैत्र १६ शुक्रवार



टेकुको प्रहरी हिरासत खाली

खुला |


टेकुको प्रहरी हिरासत खाली


देवबहादुर कुँवर

काठमाडौँ, वैशाख २१ गते । नेपालकै सबैभन्दा बढी थुनुवा हुने महानगरीय प्रहरी परिसर काठमाडौँको टेकुस्थित प्रहरी हिरासत यही बिहीबारबाट खाली भएको छ ।
परिसरमा जाहेरी नआएपछि हिरासत रित्तो भएको हो । झन्डै ६५ वर्षमा काठमाडौँको प्रहरी हिरासत खाली भएको पहिलो पटक हो । काठमाडौँ प्रहरी परिसर मुद्दा शाखा प्रमुख प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले यही मौकामा हिरासत मर्मतसम्भार तथा सरसफाइ र रङरोगन भइरहेको बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले चैत ११ गते लक डाउन सुरु गरेको दिनसम्म ७७ जना थुनुवा थिए । “बन्दाबन्दीको अवधिमा ३५ थपिए”, नायब उपरीक्षक चन्दले भन्नुभयो, “आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियापछि केही जेल तथा कोही धरौटीमा छुटेका छन् । ”
यही बिहीबारसम्म साइबर अपराधसम्बन्धी एक जना थुनुवा थिए । उनलाई पनि महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा पठाइएपछि टेकुस्थित हिरासत तीन दिनदेखि खाली भएको हो । टेकुस्थित हिरासतमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेका थुनुवाहरूसमेत राख्ने गरिन्छ । लकडाउनपछि अपराधका घटनामा कमी आउनुका साथै विभिन्न किसिमका ठगीसम्बन्धी जाहेरी नपर्नु र वृत्तहरूबाटै मुद्दा चल्दा परिसरको हिरासतमा थुनुवाको सङ्ख्या घटेसँगै लकडाउनमा हिरासत खाली भएको भनाइ प्रहरी अधिकारीको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार डेढ सयदेखि तीन सयसम्म थुनुवा राखिँदै आएको थियो । काठमाडौँ परिसरअन्तर्गत करिब १४ वटा वृत्तबाट समेत विभिन्न मुद्दामा जाहेरी लिने मुद्दा चलाउँदा थुनुवाको सङ्ख्या स्वतः घटेको हो । नेपाल प्रहरी सङ्गठन २०१२ सालमा स्थापना भएसँगै काठमाडौँ जिल्ला प्रहरी कार्यालय स्थापना भएको इतिहास पाइन्छ । करिब ६५ वर्षपछि काठमाडौँ प्रहरीको हिरासत खाली भएको हो । तर महानगरीय प्रहरी परिसर ललितपुर र भक्तपुरमा भने यथावत् छ । काठमाडौँ प्रहरी परिसरअन्तर्गतका विभिन्न वृत्तमा पनि थुनुवाको सङ्ख्या ३७ भन्दा कम छ । २०७२ सालको विनाशकारी भूकम्पका कारण प्रहरी परिसर हनुमानढोकाबाट टेकु सरेको हो । विनाशकारी भूकम्पको बेला थुनुवा नघटेको हिरासतमा अहिले भने शूून्यमा झरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?