logo
२०८० चैत्र १६ शुक्रवार



बाग्मती प्रदेशमा विदेशबाट आएको तथ्याङ्क सङ्कलन तीब्र

खुला |


बाग्मती प्रदेशमा विदेशबाट आएको तथ्याङ्क सङ्कलन तीब्र


राममणि दाहाल
हेटौँडा, चैत २० गते । विश्वभर महामारीकोको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण हुन नदिन बाग्मती प्रदेशका जिल्लाहरुमा विशेष सतर्कता अपनाइएको छ । कोरोना भाइरस लाग्न नदिन, सङ्क्रमणको जोखिम कम गर्न र भएमा उपचारको यथोचित व्यवस्था गर्न तीनै तहका सरकारसँगै सङ्घसंस्था र नागरिक लागेका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विदेशबाट आएकाहरुको खोजी र उनीहरुको जाँच स्थानीय तहहरुको सक्रियतामा प्रदेशका जिल्लाहरुमा भइरहेको छ । यस्तै मकवानपुर जिल्लामा स्थानीय तहहरुको अगुवाइमा चैत १ गते भन्दापछि भारत तथा तेस्रो मुलुकबाट आएका नेपाली नागरिकको खोजपड्ताल र स्वास्थ्य जाँचलाई तिब्रता दिइएको छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भारत तथा तेस्रो मुलुकबाट आएका मकवानपुरमा ४०२ जनाको पहिचान भएको जानकारी दिनुभयो । विदेश गएर फर्किएका सबैभन्दा बढी क्रमशः हेटौँडा उपमहानगरपालिकामा १६७ जना र सबैभन्दा कम मकवानपुरगढी गाउँपालिकामा पाँच जना रहेका छन् । विदेश गएर आएकाहरुको तथ्याङ्क सङ्कलनसँगै जाँचका क्रममा अधिकांशको अवस्था सामान्य रहेको पाइएको बताउँदै उहाँले होम क्वारेण्टाइनमा रहेको बताउनुभयो ।

हेटौँडाका विदेशबाट फर्किएकामध्ये एक जना क्वारेण्टाइन, दुई जना आइसोलेसन कक्षमा र बाँकी होम क्वारेण्टाइनमा रहेका छन् । यस्तै बाग्मती गाउँपालिकामा विदेशबाट २४ जना फर्किएकामा चार जनालाई क्वारेण्टाइनमा राखिएको छ । मनहरी गाउँपालिकाका एक जना विदेशबाट आएका सहित दुई जनाको स्वास्थ्य परीक्षणका लागि भरतपुर पठाइएकोमा स्वाब परीक्षण गर्दा दुवै जनाको नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । प्रदेश राजधानी हेटौँडामा रहेको आइसोलेसन कक्षमा राखिएका कोरोना भाइरसका शङ्कास्पद पाँच जना विरामी डिस्चार्ज भएका छन् भने क्वारेण्टाइनमा राखिएकोमा दुवै जनाको समय पूरा भएकोले घर फर्काइएको छ ।
अस्पतालका सुपरिटेण्डेण्ट प्रविन श्रेष्ठले भन्नुभयो, पाँच जनाको स्वाब परीक्षणको लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएकोले डिस्चार्ज गरिएको छ । तीमध्ये एक जना होम क्वारेण्टाइनमा बस्नु पर्ने छ ।

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार सिन्धुली जिल्लामा भारत तथा तेस्रो मुलकबाट आएका मध्ये १७५ जनालाई होम क्वारेन्टाईनमा राखिएको छ । एक जनाको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ ।

भारतबाट आउनेको सङ्ख्या ८३ जना र तेस्रो मुलुकबाट आउनेको सङ्ख्या ९३ जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले तेस्रो मुलुकबाट आएका मध्ये एक जनामा उच्च ज्वरो र खोकीको समस्या देखिएपछि सिन्धुली अस्पतालमा आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ स्वाब परीक्षण गर्न काठमाडौँ पठाएको र रिपोर्ट आउनेक्रममा रहेको छ ।’ भारत तथा तेस्रो मुलुकबाट आउने सबैभन्दा बढी कमलामाई नगरपालिकामा ४० देखिएको छ ।
भारत तथा तेस्रो मुलुकबाट आएका शङ्कास्पद व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा राखेर ज्वरो, खोकीलगायतका समस्या आए नआएको स्थानीय तह तथा स्वास्थ्यचौकीका प्रमुखमार्फत बुझेर निगरानी गर्ने काम भइरहेको छ ।
सिन्धुली उच्च ज्वरो आएका पाँच जनालाई आइसोलेसन वार्डमा राखेर उपचार गएिकोमा स्वाब परीक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखिएकोले घर पठाइएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो ।

काभ्रेपलाञ्चोक समाचारदाता मधुसुधन तिमल्सिनाका अनुसार काभ्रे जिल्लामा ३५३ जना वैदेशिक रोजगारीबाट फर्किएका छन् । गत फागुन १६ देखि चैत १२ गतेसम्म जिल्लाका स्थानीय तहले उनीहरुलाई सम्पर्कमा ल्याएका हुन् ।

विदेशबाट फर्किएर आएका भएपनि कोरोना भाइरसको परीक्षणका लागि नआएपछि जिल्ला प्रशासन कार्यालयले विदेशबाट फर्किएको खोजी गर्न स्थानीय तहका पत्रचार गरेको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा. नरेन्द्रकुमार झाले सबैभन्दा बढी पनौती नगरपालिकामा १०१ जना विदेशबाट फर्किएर आएका छन् ।
झाका अनुसार मण्डनदेउपुर नगरपालिका आठ जना क्वारेन्टाइनमा बसेका बाहेक अन्य होम क्वारेन्टाइनमा बसेको र धुलिखेल अस्पतालका नर्सहरुले उनीहरुको अवस्थाका बारेमा जानकारी लिइरहनुभएको छ । जीपीएस ट्रयापिङमार्फत कतै हिडेमा तत्काल फोन गर्छौ र हिड्न दिदैँनौ, भन्नुभयो ।
यस्तै काभ्रे जिल्लाबाट चार जनाको कोरोना भाइरसको स्वाब परीक्षणका लागि पठाइएकोमा दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई जनाको आउन बाँकी रहेको छ । स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले एक जना मङ्गलबार मात्र आइसोलेसनमा भर्ना हुनुभएकोले परीक्षणका लागि पठाउने भन्दै एक जनाको रिपोर्ट आइनसकेको उहाँले जानकारी दिनुभयो ।

भरतपुर समाचारदाता शान्ता अधिकारीका अनुसार फागुनको अन्तिम सातादेखि बुधबार बिहानसम्ममा विदेशबाट फर्केका ४९८ जनाको पहिचान खुलेको हो ।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले वैदेशिक रोजगारी र भ्रमणबाट फर्केकामध्ये सबै भन्दा बढी २५० जना भन्दा बढी भरतपुर महानगरपालिका भित्रका रहेका छन् । सबैभन्दा कम इच्छाकामना गाउँपालिकाका १५ जना रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार माल्दिभ्सबाट आएका एक जना रत्ननगर नगरपालिकास्थित क्वारेन्टाइनमा रहेको र अन्य सबै होम करेन्टाइनमा रहेका छन् । होम क्वारेन्टाइनमा रहेकाहरुसमेत स्थानीय तह, स्वास्थ्यकर्मी र प्रहरीको निगरानीमा राखिएको र समस्या देखिएमा अस्पताल ल्याउन तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच भरतपुर क्वारेन्टाइन विषेश (अस्थायी) अस्पतालमा बुधबार बिहानसम्म १३४ जना पुरुष र ७१ जना महिलाकोे स्वास्थ्य जाँच भएको अस्पतालमा प्रवक्ता डा. भोजराज अधिकारीले जानकारी दिनुभयो । तीमध्ये ३८ जना भर्ना गरिएको र उनीहरुको स्वाब जाँचको लागि पठाइएकोमा सबै नेगेटिभ देखिएको छ । अस्पतालमा भर्ना भएकामध्ये एक जनाको मृत्यु भएकोमा निजको कोरोनो परीक्षण गर्दा नेगेटिभ नै आएको थियो । अस्पताल भर्ना भएकामध्ये बुधबार बिहानसम्म ३४ जना डिस्चार्ज भइसकेका छन् ।

धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार धादिङ जिल्लाबाट भारतलगायत अन्य देशमा अध्ययन र रोजगारका सिलसिलामा गएका मध्ये ३२८ जना फर्किएर आएका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो । विदेशबाट आएका मध्ये ६८ जनालाई क्वारेन्टाइनमा र बाँकी घरमा नै क्वारेन्टाइनमा रहेका छन् । जिल्ला कमाण्ड पोष्टको बैठकले भारत तथा तेस्रो मुलुकबाट आएका व्यक्तिहरुलाई सबै स्थानीय तहमार्फत अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्थापन गरेको छ । अटेर गरे सङ्क्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

जिरी समाचारदाता कैलाश लामाका अनुसार नेपालमा हालसम्म कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण विदेशबाट फर्किएर आएकाहरुमा देखिएपछि हिमाली जिल्ला दोलखाले विदेशबाट आउनेहरुको तथ्याङ्क सङ्कलन गर्न थालेको छ ।

दोलखामा भारत तथा अन्य देशमा गएका ३११ जना फर्किएर आएका छन् । उनीहरुमा सङ्क्रमण हुनसक्ने सम्भावनाप्रति बेवास्ता गर्दा स्थानीयमा मनोवैज्ञानिक त्रास बढेको छ ।
कोरोना भाइरसको आशङ्कामा गत हप्ता स्वाब परीक्षण गरिएका पाँच जना व्यक्तिको परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ ।
विदेशबाट आएकाहरु खुलेआम हिड्डुल गरिरहँदा क्वारेन्टाइन भने रित्तै छन् ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले विदेशबाट जिल्ला फर्किएका सबैलाई क्वारेन्टाइनमा राख्नसक्ने सम्भावना नरहेपनि तथ्याङ्क सङ्कलनपछि यसबारे छिट्टै निर्णय हुने बताउनुभयो । उहाकाँ अनुसार अब विदेशबाट आउनेहरुको घरघरमा पुगेर जरोलगायतका स्वास्थ्य जाँच गरिनेछ ।
रसुवा समाचारदाता हेमनाथ खतिवडाका अनुसार रसुवाका फ्रान्सबाट आएका दुई जनामा कोरोना भाइरसको मिल्दो लक्षण देखिएपछि उनीहरु काठमाडौँस्थित आफ्नै घरमा क्वारेन्टाइनमा छन् ।
कालिका गाउँपालिकाले ५० शय्याको क्वारेन्टाइन तथा जिवजिवे ग्रामीण अस्पतालमा १५ शय्याको आइसोलेसन सञ्चालन गरेको छ ।
व्यापारिक नाका रसुवागढीमा कोरोना भाइरस परीक्षणका लागि भवन निर्माण गरी सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष रामशरण कुइकेलले बताउनुभयो । प्रमुख जिल्ला अर्जुन भण्डारीका अनुसार चैत ६ गतेदेखि हालसम्म ११ जना विदेशबाट फर्किएर आएकाको पहिचान भएको छ ।
भारत तथा तेस्रो मुलुकबाट जिल्ला फर्कनेको सङ्ख्या १६ जना रहेको जानकारी आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो । तीमध्ये नौकुण्ड गाउँपालिकामा तीना जना होम क्वारेन्टाइनमा रहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?