logo
२०८० चैत्र १६ शुक्रवार



भारतीय क्वारेन्टाईनमा नबस्ने भन्दै सीमामा नाराबाजी

खुला |


भारतीय क्वारेन्टाईनमा नबस्ने भन्दै सीमामा नाराबाजी


बाँके समाचारदाता
बाँके, चैत २० गते । नेपाल भारत सीमा स्थित नेपालगञ्ज नाकामा पाँच दिनदेखि अलपत्र परेका नेपालीहरुको अवस्था झनझन कष्टकर बन्दै गएको छ । सीमा नाकामा रोकिएका नेपाली नागरिकले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै बिहिवार नाराबाजी समेत गरेका छन् ।

नेपाल र भारतका सुरक्षा अधिकारीको छलफलपछि नेपाली नागरिकलाई भारतीय सुरक्षा निकायले भारतमै क्वारेन्टाईनमा राख्ने सहमति जनाएपनि नेपाली नागरिकहरुले कुनैपनि हालतमा भारतीय क्वारेन्टाईनमा नजाने र आप्mनो देशमा प्रवेश गर्न पाउनुपर्ने माग गरेका छन् ।
सीमामा अलपत्र परेका नेपाली नागरिकहरु बिहिवारसम्म १८१ जना पुगेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले मंगलबारदेखि उनीहरुलाई खाने पिउनेको व्यवस्था गरेको छ । तर बुधबार

साँझदेखि दशगजामा बसिरहेका नेपाली नागरिकहरुले खाना समेत खाएका छैनन । उनीहरुको एकसुत्रीय माग नेपाल प्रवेश गर्न पाउनुपर्छ भन्ने रहेको छ । विहिवार विहानदेखि नेपाल र भारतीय पक्षले भारतीय क्वारेन्टाईनमा बस्न नेपाली नागरिकलाई आग्रह गरेपनि उनीहरुले अस्वीकार गरिरहेका छन् ।

दुईदिनसम्म दशगजामा रोकिएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले मंगलबार दशगजावारी नेपालतर्फ एकीकृत भन्सार जाँच चौकीमा ल्याएर छोडेका थिए । आँपको रुखको छहारीमा बसेका उनीहरुलाई फेरी दशगजा लगिएको हो । बुधबार नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकमा नेपाल र भारत दुबैतर्फका क्वारेन्टाईनमा नेपालीलाई राख्ने सहमति भएपनि गृह मन्त्रालयको आदेशमा त्यो निर्णय पनि कार्यान्वयन हुन नसकेको स्रोतले जनाएको छ ।

नवलपरासी बासाबसाहीका चन्द्रबहादुर थारुले दशगजामा कहिले यता र कहिले उता गर्दागर्दै आफुहरुको बिचल्ली भएको बताउनुभयो । दिनहुँ खेतैखेत कहिले यता त कहिले उता गर्नु परिरहेको छ , चौधरीले भन्नुभयो, खेतमा, सडकमा सुतिरहेका छौं, खुट्टाभरी घाउचोट भएको छ । भारतीय सुरक्षा निकायले नेपालतर्फ जबरजस्ती पठाउने र नेपाली सुरक्षाकर्मीले भारततर्फ जबरजस्ती पठाउने क्रम चलिरहेको बताउँदै थारुले आफुहरुको बिचल्ली भएको दुखेसो गर्नुभयो ।

बुधबारराती आफुहरुलाई सम्वद्ध जिल्लाको क्वारेन्टाईनमा राख्ने भन्दै झुक्काएर सीमा पारी लगिएको थारुको भनाई छ । पाँच दिनदेखि अलपत्र पर्दा नेपालीहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको जनाएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सीमामा अलपत्र नेपालीहरुको ब्यवस्थापनका लागि नेपाली पक्षले प्रयास गरिरहेको बताउनुभयो । बिहिवार दिउसो पनि सीमावर्ती भारतको बहराईचका जिलाधिकारीसँग रुपैडियामा आवश्यक छलफल गरिएको भन्दै उहाँले सीमामा अलपत्र नेपालीको बारेमा मन्त्रालयमा जानकारी गराइएको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?