logo
२०८० चैत्र ६ मंगलवार



कोरोना नियन्त्रणका लागि किटनाशक औषधि छर्किन तीब्रता

खुला |


कोरोना नियन्त्रणका लागि किटनाशक औषधि छर्किन तीब्रता


धीरेन्द्रप्रसाद साह
राजविराज, चैत २० गते । सप्तरीका स्थानीय सरकारहरुले आ–आफ्ना पालिकाहरुमा किटनाशक औषधि छर्किन थालेको छ । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्लाका नगरपालिका र गाउँपालिकाहरु औषधि छर्किने कार्य तीब्र रुपमा गरिरहेको छ ।

यसै क्रममा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले आफुसहित कर्मचारीले गाउँपालिकाका वडाहरुमा किटनाशक तथा लामखुट्टे मार्ने औषधि छर्किने गरेको छ । पछिल्लो चार दिनदेखि किटनाशक औषधि छर्किने कार्यलाई निरन्तरता दिइएको छ भने गएरातीदेखि लामखुट्टेविरुद्धको औषधिसमेत छर्किन थालिएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो।

कोरोना रोकथाम तथा नियन्त्रणकालागि वडा नम्बर ८, ७ र ६ मा औषधि छर्किने कार्य सम्पन्न भएको अधिकृत झाले बाँकी रहेको वडाहरुमा समेत औषधि छर्किने कार्य जारी रहेको बताउनुभयो । अहिलेको अवस्थामा कोरोना भाइरसको संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्नु अति आवश्यक भएकोले गाउँपालिका बासिन्दाहरुलाई राहत दिन किटनाशक औषधि छर्किने कार्य सुरु गरिएको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बताउनुभयो । गर्मीमा लामखुट्टेको कारण विभिन्न रोग समेत लाग्ने भएकोले लामखुट्टे नियन्त्रण गर्ने औषधि पनि छर्किन सुरु गरिएको अध्यक्ष सिंहको कथन छ ।

त्यस्तै राजविराज नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सहित अन्य संक्रमणको सम्भाव्तालाई मध्यनजर गर्दै किटनाशक औषधि छर्किन सुरु गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापाका अनुसार हालसम्म वडा नम्वर १, ३, ४, ५, ६, ७, ८ र ९ मा पूर्ण औषधी छर्किने कार्य सम्पन्न भइसकेको छ । बाँकी वार्डहरुमा औषधि छर्किने कार्य जारी रहेको उहाँले बताउनुभयो ।

यसैगरी बोदेबरसाइन नगरपालिकाले पनि विभिन्न वार्डमा किटनाशक औषधि छर्ने कार्य जारी राखेको बताइएको छ । जिल्लाका अन्य स्थानीय सरकारहरुले पनि किटनाशक औषधि छर्ने तयारीमा रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?