logo
२०८१ बैशाख ५ बुधवार



कोरोना संक्रमण रोकथाममा लमजुङ सकृय

खुला |


कोरोना संक्रमण रोकथाममा लमजुङ सकृय


बेलिना थापा
लमजुङ, चैत १९ गते । नोवेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि लमजुङका स्थानीय तह सक्रीय भएका छन् ।

स्थानीय तहले कोरोना संक्रमण फैलन नदिन र यसको नियन्त्रणका लागि बजेटको व्यवस्था गरेर धमाधम काम गरिहरेको छ । केही स्थानीय तहमा स्थापना भएको विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट विभिन्न गतिविधि सञ्चालन गरिरहेका छन् । कतिले छुट्टै राहत कोष स्थापना गरेर काम गरिरहेका छन् । बेंसीसहर नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि १ करोड रुपियाँ विनियोजन गरेको छ । नगरपालिकाले माइकिङ, सचेतनाको काम गरिरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने क्रममा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र कर्मचारीको मृत्यू भएमा वा जोखिममा परेर अंगभंग भएमा १० लाख रुपियाँ दिने निर्णय भएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।

उहाँका अनुसार नगरभित्रका स्वास्थ्यकर्मीलाई २० वटा पीपीई हस्तान्तरण गरिएको छ । स्वास्थ्य सहायता कक्षा स्थापना गरी थर्मल गर्नको व्यवस्था गरेको छ । शंकास्पद विरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । ७५ बर्ष माथिका लागि घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने गरेको छ । लकडाउनको अवधिमा दैनिक मजदुरी र ज्यालादारी गरी बस्ने परिवारलाई दैनिक गुजारा गर्न समस्या हुने भएकाले उनीहरुलाई खाद्यान्न सहयोग गरेको छ । ११ वटै वडाले ज्यालादारी गरेर बस्ने परिवारको तथ्यांक संकलन गरेर खाद्य सामाग्री दिएको छ । ४ सय ९० परिवारलाई वितरण गरिसकेको छ । एक परिवारलाई ३० किलो बराबार एकबोरा चामल, १ लिटर तेल, चना, दाल र नुन १÷१ किलो उपलब्ध गराइएको छ ।

दोर्दी गाउँपालिकाले (कोभिड १९) को रोकथाम तथा नियन्त्रणका लागि १ करोड रुपियाँको राहत कोष स्थापना गरेको छ । गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार बजेटबाट कोरोना रोकथामका लागि गतिविधि सञ्चालन गरिएको छ । गाउँपालिकाले क्वारेन्टाइन बनाएर विदेशबाट आएकालाई राखेका छन् । उनीहरुलाई खानाको व्यवस्था गरेको छ । गाउँपालिकाभित्र ज्याला मजदुरी गर्नेको तथ्यांक संकलन गर्न थालेको छ । दैनिक गुजारा गर्न समस्या हुनेका लागि खाद्यान्नको व्यवस्था गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाले हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँच गरेको छ । सम्भावित विरामीलाई अस्पतालसम्म निःशुल्क पु¥याउन २ वटा एम्बुलेन्सको व्यवस्था गरेको छ ।
राइनास नगरपालिकाले २५ लाखको कोरोना राहत कोष स्थापना गरेको छ । नगर प्रमुख सिंहबहादुर थापाका अनुसार कोरोना रोकथामका लागि सोही कोषबाट खर्च गरिएको छ । नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको उद्वारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्वयम्सेवकहरुको कोरोनाबाट संक्रमित भई मृत्युु भएमा निजका परिवारलाई राहत स्वरुप ११ लाख दिने निर्णय भएको छ ।

मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले नगरपालिको छुट्टै राहत कोष स्थापना नगरेपनि आवश्यकता अनुसार खर्च गरिने निर्णय भएको छ । तत्काल विपद् कोषमा रहेको १० लाख रुपियाँ खर्च गरिने र बाँकी थप गरेर कोरोना रोकथाम गरिने बताउनुभयो । सुन्दरबजार नगरपालिकाले ११ वटा वडामा प्रत्येकलाई २÷२ लाख रुपियाँ विनियोजन गरेको छ । वडाले उक्त रकमबाट कोरोना भाइरस रोकथामका लागि विभिन्न गतिविधि सञ्चालन गर्न सक्नेछन् । आवश्यकता अनुसार पछि थप गरिने नगरपालिकाले जनाएको छ । नगरपालिका प्रमुख जनकराज मिश्रका अनुसार वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमार्फत वडाबासीलाई राहत वितरणको काम भइरहेको उहाँले बताउनभुयो । विपद प्रतिकार्य कार्यमा खटिने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालक तथा अन्य सवारी चालकका सोही सिलसिलमा मुत्यु भएमा १० लाख बीमा उपलब्ध गराउने भएको छ ।

स्वास्थकर्मीको सुरक्षालाई मध्यनजर गर्दै पीपीई सम्बन्धी सामाग्रीको लागि सबै प्रकारका उपाय अपनाउने निर्णय भएको छ । यस्तै, नगरपालिका क्षेत्रमा अलपत्र अवस्थामा रहेका, नगरपालिका भन्दा बाहिर कोही भए उनीहरुलाई खाने बस्नेको व्यवस्था गरिने भएको छ । दैनिक मजदुरी गरी खाने परिवारलाई खान नपाउने अवस्था रहेमा निजलाई आवश्यक खानाको व्यवस्था गरिने नगरपालिकाले जनाएको छ । उपभोक्तालाई सकेसम्म घरमा दैनिक उपभोग्य वस्तु पु¥याउन लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाई, भोटेओडार इकाई र चेम्बर अफ कमर्ससंगको आवश्यक समन्वय गर्ने भएको छ ।

मस्र्याङदी गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट ५० लाख रुपियाँ खर्च गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमणको नियन्त्रण तथा रोकथाम सम्बन्धी आवश्यक कार्यक्रममा खर्च गर्न उक्त रकम विनियोजन गरेको छ । स्वास्थ्य संस्थामा आपतकालीन औषधीको व्यवस्था, मेडिकल सामाग्रीको व्यवस्था, स्वास्थ्यकर्मीको सुरक्षा सामाग्रीको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । दैनिक ज्यालादारी गर्नेको तथ्यांक संकलन गर्दै राहत दिन थालिएको छ । हाललाई प्रति परिवारका लागि वडा सम्बन्धीत वडाध्यक्षको समन्वयमा पायक पर्ने स्थानीय खाद्य पसलबाट सामाग्री उपलब्ध गराउन थालेको छ । प्रति परिवारलाई चामल ३० किलो, दाल ३ किलो, खाने तेल १ लिटर, नुन १ पोका, डिटोल साबुन ३ वटा दिइएको छ ।
गाउँपालिकाले नोवेल कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा खटिने कर्मचारीका लागि प्रति कर्मचारी २० लाख रुपियाँको जीवन विमा गर्ने निर्णय समेत गरेको छ । उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र सवारी चालकको प्रति कर्मचारी २० लाखको जीवन विमा गर्ने निर्णय गरेको हो । गाउँपालिकामा भित्रका आर्थिक रुपमा विपन्न नागरिकलाई कोरोनासंग सम्बन्धी उपचारका लागि नेपाल सरकारले तोकेको अस्पतालमा जान परेमा बढीमा १० हजार सहयोग गर्ने छ ।

क्व्होलासोंथर गाउँपालिकाले कोरोना भाइरस रोकथामका लागि तत्कालका लागि २० लाख रुपियाँ विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार गाउँपालिकामा ५ ठाउँमा हेल्थ डेस्क स्थापना गरि थर्मल गनबाट स्वास्थ्य चेकजाँच गर्ने गरिएको छ । संक्रमति विरामीको उपचारका लागि २ वटा एम्बुलेन्सको व्यवस्था गरेको छ । गाउँपालिकामा मजदुरी गर्ने बस्नको तथ्यांक संकलन गरिएको छ । बिहीबार बैठक बसेर राहत वितरण सम्बन्धी छलफल गरिने प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारु मगरले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?