logo
२०८१ बैशाख ५ बुधवार



कोरोना संक्रमितको उपचार बागलुङमै, स्वास्थ्य अवस्था सामान्य

पढ्नै पर्ने |


कोरोना संक्रमितको उपचार बागलुङमै, स्वास्थ्य अवस्था सामान्य


चन्द्रप्रकाश शर्मा

पोखरा, चैत १६ गते । नेपालमा पाँचौ कोरोना भाइरस कोभिड १९ को संक्रमणमा परेकी बागलुङकी एक युवतीको उपचार धौलागिरि अञ्चल अस्पताल बागलुङमा सुरु गरिएको छ । पारिवारिक भेटघाटका लागि बेल्जियम पुगेर फर्केकी बागलुङ नगरपालिका निवासी १७ वर्षीय युवतीलाई कोरोना भाइरसको संक्रमण भएको शनिबार स्वास्थ्य मन्त्रालयले पुष्टी गरेपछि धौलागिरि अञ्चल अस्पतालको आइसुलेसन कक्षामा राखेर उपचार सुरु गरिएको हो ।

कोरोना भाइरसको संक्रमण पुष्टी भएकी ति युवतीको स्वास्थ्य अवस्था सामान्य रहेकाले बागलुङमै राखेर उपचार गर्न सकिने भएकाले पोखराबाट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), भेन्टिलेटर, भिटिएम लगायतका सामग्री बागलुङ पठाउँन लागिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । ‘हामीले स्वाबको नमूना परीक्षणका लागि काठमाडौंको केन्द्रीय प्रयोगशालामा पठाइएकोमा ति युवतीको रिपोर्ट पोजेटिभ आएकाले सोही अनुसार तयारी थालिएको छ ।’ शर्माले भन्नुभयो ।
चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी ती युवती सुरुका केही दिन घरमै स्वतन्त्र रुपमा घुमफिर गरेर बसेकी थिइन । चैत १० गते नेपालमा दोस्रो संक्रमितको रुपमा फ्रान्सबाट आएकी युवतीलाई कोरोना संक्रमित भएको थाहा पाएको र आफूमापनि केही असहज महसुस भएपछि स्वास्थ्यकर्मीको सम्पर्कमा आएको जनाइएको छ ।

सामान्य ज्वरो आएपनि घरमै बसेकी युवतीको धौलागिरि अञ्चल अस्पतालले स्वाबको नमूना संकलन गरी काठमाडौं पठाइएको थियो भने युवती पुनः होम क्वारेन्टाइनमा बस्ने भन्दै घरमै गएको धौलगिरि अञ्चल अस्पतालले जनाएको छ । उनीसँगै बागलुङ बजारकै एक महिला र ढोरपाटन नगरपालिकाका एक युवक होम क्वारेन्टाइनमै सुरक्षित रुपमा बसेका छन् ।

शनिबार दिउसो ४ बजे स्वास्थ्य मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा कोरोना भाइरस संक्रमणको पुष्टी गरेपनि ति युवतीलाई राती ११ बजे मात्र अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । अञ्चल अस्पतालमा आइसियु नभएकाले उनलाई कहाँ उपचार गराउँने भन्ने निर्णय हुन ढिलाई भएकाले उनलाई सात घण्टापछि मात्र अस्पताल भर्ना गरिएको थियो । अञ्चल अस्पतालको आइसुलेसन कक्षमा भर्ना भएकी युवतीलाई सामान्य खोकी बाहेक अन्य कुनै समस्या नभएको पारिवारिक स्रोतले जनाएको छ ।

यस्तै एउटै विमानमा आएका दुई जनाको कोरोना भाइरस संक्रमणको पुष्टी भएकाले उक्त विमानमा सवार सबै यात्रुहरुको स्वाब परीक्षणको तयारी गरिएको छ । ति युवती चैत ५ गतेदेखि १० गतेसम्मको अवधीमा गाउँघरमा स्वतन्त्ररुपमा धुमफिर गरेकाले उनको सम्पर्कमा आएकालाई निगरानी बढाउँन थालिएको छ । बागलुङ नगरपालिकाले उनी बसोवास गरेको गाउँमा डिसइन्फेक्सन स्प्रे छर्किएको छ । युवतीको गाउँमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले दमकलको प्रयोग गरेर किटनाशक औषधी छर्किएको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
यसैबीच, म्याग्दी समाचारदाताका अनुसार बैदेशिक रोजगारबाट फर्किएका १ सय १५ जना स्थानीय तहको सम्पर्कमा आएका छन् । तीमध्ये बेनी नगरपालिकामा ३० जना, मंगला गाउँपालिकामा २७, मालिकामा २०, रघुगंगामा १५, अन्नपूर्णमा १४ र धवलागिरीमा ९ जनाको तथ्याङ्क सङ्कलन भएको छ । हाल होम क्वारेन्टाइनमा नै बस्न आग्रह गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?