logo
२०८० चैत्र १६ शुक्रवार



रोकिएका नौ बुलेट ग्याँस भित्रिए

खुला |


रोकिएका नौ बुलेट ग्याँस भित्रिए


नेपालगञ्ज समाचारदाता
नेपालगञ्ज, चैत १३ गते । सीमापारी रुपैडिहामा पुगेर रोकिएका ९ वटा ग्याँसका बुलेट विहिबार दिउँसो स्थानीय प्रशासनको पहलपछि नेपाल भित्रिएका छन् । भारतको गोन्डा डिपोबाट ग्याँस भरेर बुधवार अपरान्हनै सीमापारी रुपैडिहा पुगेका ती बुलेटहरु उतै रोकिएका थिए ।

बाँकेमा रहेको मनकामना ग्याँस र भेरी ग्याँस उद्योगका लागि आएका ती बुलेटलाई भारतीय भन्सारमा कागजपत्र दिएर भित्र्याउनका लागि विहिबार विहान ग्याँस उद्योगका कर्मचारी सीमापारी जान खोज्दा एसएसबीले जान नदिएपछि बुलेट भित्रिन सकेका थिएनन् ।

तर, नेपाल आयल निगमको आग्रहमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले पहल गरेर भारतीय सुरक्षा अधिकारीहरुसंग कुरा गरेपछि उद्योगका कर्मचारीलाई सीमापारी जान दिईएको मनकामना ग्याँस उद्योगका कर्मचारी मधु भण्डारीले बताउनु भयो ।

‘हामीले आयल निगममा खबर गरेका थियौ, निगमका प्रमुखले प्रजिअलाई आग्रह गरेपछि सीमापारी जान दिएकोले बुलेटहरु भित्रिएका छन् ।’–भण्डारीले भन्नुभयो ।
उहाँले रोकिएका बुलेटहरुमा ४ वटा मनकामना र ५ वटा भेरी ग्याँस उद्योगका बुलेटहरु रहेको बताउनु भयो ।

बुधवारसम्म ग्याँसका बुलेटहरु सहज रुपमा भित्रिएपनि विहिबारदेखि एसएसबीले अवरोध शुरु गरेकोले समस्या हुनसक्ने बाँकेका ग्याँस उद्योगहरुले जनाएका छन् ।
नेपालगञ्जको राँझास्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयका प्रमुख नवविनोद पोखरेलले विहिवार विहान ग्याँसका बुलेट भित्रिन समस्या भएको जनाउँदै प्रशासनको पहलपछि बुलेट भित्रिएको बताउनु भयो ।

उहाँले भारतमा पनि लामो लकडाउन भैरहेको र सवारीसाधन सञ्चालनमा कडाई हुँदै गएकोले अब बुलेट पठाउन समस्या हुनसक्ने बताउनु भयो ।
नेपाल आयल निगम नेपालगञ्जका प्रमुख पोखरेलले नेपाल र भारत दुबै ठाउँमा लकडाउन लम्बिदै जाने हो भने ग्याँस आपूर्तिमा समस्या भएर अभाव हुनसक्ने हुँदा अब सिलेन्डरमा ७ किलो ५०० ग्राम ग्याँस भर्न शुरु गर्न लागिएको पनि बताउनु भयो । उहाँले अझैपनि निगमसंग पेट्रोलियम पदार्थ र ग्याँस प्रयाप्त मौज्दातमा रहेकोले केही दिन समस्या नहुने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?