logo
२०८० चैत्र १५ बिहीवार



मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो, सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा

अन्तर्राष्ट्रिय |


मध्य प्रदेशमा राजनीतिक सङ्कट गहिरिँदो, सिन्धियाद्वारा काँग्रेस छोड्ने निर्णयसँगै १९ सांसदद्वारा राजीनामा


भोपाल, फागुन २७ गते।
मध्यप्रदेशमा भारतीय काँग्रेसको तर्फबाट लामो समय मध्य प्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाले मङ्गलबार राजीनामा दिनुभएको छ । सिन्धयाको राजीनामासँगै मध्य प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा गरेका छन् । सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गर्नुभएको छ । निकट मानिने सांसदहरूले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उहाँको राजीनामा आएको हो ।
“सुरूदेखि नै मेरो चाहना मध्य प्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ । मेरो विचारमा काँग्रेसमा बसेर यो सम्भव छैन त्यसैले मैले राजिनामा दिएको छु,” उहाँले राजीनामामा भन्नुभएको छ । सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका काँग्रेस स्रोतले बताएको छ ।
यसअघि सोमबार दिगविजय सिंगसहितका काँग्रेस नेताहरूले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्य प्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए । मध्य प्रदेशमा काँग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो ।
कांग्रेसबाट राजीनामा दिनुअघि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी हुनुहुन्थ्यो । उहाँहरूबीच भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । अब मध्य प्रदेशको कमलनाथ सरकार संकटमा फसेको छ । यसैबीच मुख्यमन्त्री कमलनाथको घरमा कांग्रेसको आपत्कालिन बैठक अहिले बसेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?