logo
२०८० चैत्र १५ बिहीवार



सुविधा सम्पन्न शौचालय पाएपछि मुसहर समुदाय हर्षित

पढ्नै पर्ने |
फिचर |


सुविधा सम्पन्न शौचालय पाएपछि मुसहर समुदाय हर्षित


जिवछ यादव

लहान, फागुन १३ गते । जिल्लालाई खुला दिसामुक्त घोषणा भए पनि मुसहर दलित समुदायलाई जग्गाको अभावमा शौचालय निर्माण गर्न ठूलो समस्या हुँदै आइरहेको थियो । लहान २ का दलित मुसहर समुदायलाई खुला दिसामुक्त गराउन लहान नगरपालिका र दलित जन कल्याण युवा क्लव मिलेर सुविधा सम्पन्न शौचालय निर्माण गरेर हस्तान्तरण गरेपछि स्थानीयहरु हर्षित भएका छन् ।

सार्वजनिक ठाँउमा अर्काको खुला जग्गा र बाँसघारीमा शौच गर्न जाँदा दैनिक वेज्जती सहनुपर्ने नियति नै भएको भन्दै स्थानीय रीता सदायले विगतको पीडा सुनाँउदै शौचालय हस्तान्तरण भएको तीन महिनादेखि हाम्रो इज्जत शान मान र पहिचान बढेको अनुभूति भइरहेको हर्ष पोख्नुभयो ।

गाँउमा कसैको घरमा अतिथि आँउदा वा नव विवाहित कन्या आँउदा पनि खुला दिसा गर्न बाध्य थियौ । मुसहर समुदायको जीवन जंगली प्राणी जस्तै थियो । वीगतको पीडा सुनाँउदै अर्का स्थानीय ललिता देवी सदायले भन्नुभयो, नयाँ शौचालयले हाम्रो जीवनमा नयाँ संस्कृति नै लियाइदियो । हामी असाध्यै खुसी छौ तर यसको संरक्षणको लागि प्रति घर महिनाको पचास रुपैयाँ मर्मत सम्भार विजुली वील तिर्न लगाएको रकम तीर्न अनाकानी गरिहेका छन् । साँझ विहान पाँच सयको मदिरा खाने पुरुषहरुले शौचालयको लागि महिनामा पचास रुपैया तीर्न नचाहनु ठूलो समस्या भएकै हो ।

खुला दिसाबाट मुक्त भयौ, शौचालय निर्माण भएपछि मुसहर समुदायको पनि शान मान र पहिचान नै फरिन थालेको अनुभूति भइरहेको छटु सदाय बताँउछ । उहाँको अनुसार आफू शौचालय व्यवस्थापन समितिको अध्यक्ष भएको जिम्मेवारी पुरा गर्न विहानै पाँच वजे नहरको डीलमा निर्माण भएको तीन कोठे शौचालयको नियमित सञ्चालन र लाइन लागेकाहरुलाई पालो मिलाउन साझ विहान मन्दिरको पुजारी जस्तै काम गरिरहेको छु । लहान नगरपालिका र विकन परियोजना अन्तर्गत दलित जन कल्याण युवा क्लवले शौचालय निर्माण गरि दिएर ठूलो सहयोग मात्रै होइन, सामाजिक इज्जत नै बढाइदियो ।

यता दलित जन कल्याण युवा क्लबबाट शौचालय निर्माणको लागि खटिनु भएको एलिना हेमाङग चौधरीले लहान नगरपालिकाले एक दशक पहिले सुरु गरेको शौचालयलयको अधुरा काम पुरा गरेको भन्दै लहान १ र २ मा रहेको मुसहर बस्तीलाई लक्षित गरेर दस कोठे शौचालय निर्माणको लागि पनि पहल थालिएको छ । नगरपालिका लहान खुला दिशामुक्त घोषणा गरेपनि दलित बस्तीहरुमा जग्गाको अभाव र आर्थिक अवस्था कमजोर रहेको मुसहर समुदायको माग अनुसार थप शौचालय निर्माण गरिने जानकारी दिनुभयो ।

यता लहान नगरपालिकाका प्रवक्ता राज कुमार साहका अनुसार लहान नगरपालिकामा खानेपानी र शौचालयको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न नगरपालिकाले सहयोगी संस्थाहरुसँग हातोमालो गरि योजना अगाडि बढाइ सकेको छ । आँउदो दुई वर्षमा सबै समस्या समाधान गर्न नगरपालिका गृहकार्य गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?