logo
२०८१ बैशाख १३ बिहीवार



प्राथमिकतामा परेन भक्तपुरको चक्रपथ

खुला |


प्राथमिकतामा परेन भक्तपुरको चक्रपथ


नगेन्द्र सापकोटा

भक्तपुर, फागुन ३ गते । कुनै बेला विकासको बहससँगै थालनीसमेत भएको भक्तपुरको चक्रपथ निर्माण कार्य प्राथमिकताविहीन बन्न पुगेको छ । भक्तपुर नगरपालिकालाई चक्रीय मार्गले घेर्दै साविक भक्तपुरका १६ वटै गाविसलाई एउटै सडक सञ्जालले जोड्ने गरी २०५५ सालमा सुरु भएको योजना अहिले प्राथमिकताविहीन बन्न पुगेको हो । यसले भक्तपुरको काँठ क्षेत्रको विकासको प्रमुख आधारमै अवरोध आएको स्थानीयवासी बताउँछन् ।
साविक स्थानीय पूर्वाधार विभाग तथा कृषि सडक विभाग कार्यालयले सञ्चालन गरेको उक्त सडक योजना अहिले सो कार्यालयको अधिकार क्षेत्रभित्र नपरेपछि चक्रपथ निर्माण कार्य अन्य निकायले पनि प्राथमिकतामा राखेका छैनन् । हाल सो कार्यालय स्थानीय पूर्वाधार विभागमा रूपान्तरण भएको छ ।
स्थानीय पूर्वाधार विभागका सिनियर डिभिजनल इन्जिनियर महेश न्यौपानेले विभागको जिम्मेवारी साँघुरिएसँगै भक्तपुर बाहिरी चक्रपथ निर्माण कार्य विभाग अन्तर्गत नपर्ने बताउनुभयो । साविक जिल्ला विकास समितिले हेरेका योजना अहिले स्थानीय तहले नै हेर्छन् भन्दै उहाँले साविकका वैदेशिक सहयोगबाट सञ्चालन भएका योजना ‘फेज आवट’ हुँदै गएपछि क्रमागत योजना स्थानीय तहमा नै हस्तान्तरण भएका छन् । अबको जिम्मेवारी स्थानीय तहको हो भन्नुभयो ।
कुल ५३ दशमलव पाँच किलोमिटर चक्रपथको सडक खण्डमध्ये १० दशमलव चार किलोमिटर कालोपत्रे भइसकेको छ । ४३ दशमलव एक किलोमिटर ग्राभेलिङ तथा धुलेसडक निर्माण भइसके पनि बाँकी काम सम्पन्न गर्न कुनै एउटै निकायले जिम्मेवारी लिएका छैनन् ।

चक्रपथ रूपरेखा
भक्तपुरमा बन्ने बाहिरी चक्रपथले काँठ क्षेत्रका महìवपूर्ण नगरोन्मुख गाउँलाई समेट्छ । चक्रपथले भक्तपुरको लोकन्थली, कौशलटार, बालकोट, सिरुटार, साविकको दधिकोट–१ बिरुवा, गुण्डु, गणेशमान स्मृति बाटिका (कटुञ्जे) सूर्यविनायकलाई समेट्ने छ । त्यसबेला सविक सिपाडोल गाविस भवन, डोलेश्वर महादेवस्थान, नङ्खेल–२ पलाँसे, नेपाल प्रहरी स्कुल (साँगा), चित्तपोल भङ्गाल–७ र ८ वडा सल्लाघारी ताथली–२ र ३, सरस्वती माविसम्म भक्तपुर बाहिरी चक्रपथले जोडिनेछ ।
त्यस्तै बागेश्वरी–५ र ६ हँुदै मुहानपोखरी, नगरकोट सडक, तेलकोट भञ्ज्याङ, छालिङ (पर्यटन मार्ग), सविक चाँगु गाविस भवन, झौँखेल गेलालगाउँ, दुवाकोट सरस्वतीखेल, बोडे, नगदेश, मगरगाउँ–१७, पुरानो ठिमी (एसओएस बालग्राम) लोकन्थलीसम्म भक्तपुर बाहिरी चक्रपथ जोडिने स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

एक अर्ब लागत
भक्तपुरको बाहिरी चक्रपथ सडक पूर्णरूपमा निर्माण गर्न करिब एक अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । ११ मिटर चौडाइ भएको कुल ५३ दशमलव पाँच किलोमिटर सडक निर्माण सम्पन्न गर्न एक अर्बभन्दा बढी रकम लाग्ने अनुमान गरिएको छ ।
उक्त सडक खण्डमा सूर्यविनायक, चाँगुनारायण र मध्यपुर ठिमीले भने आफ्नो नगरपालिकाको भूगोलभित्र पर्ने सडकलाई स्तरोन्नतिको काम गरेका छन् ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले निर्माण हुन लागेका केही स्थानमा जग्गाको विवाद छ र स्थानीयवासीले मुआब्जाको माग गर्दा निर्माण अगाडि बढ्न नसकेको बताउनुभयो ।
यस क्षेत्रमा बस्ती बाक्लिँदै गएको र भक्तपुर बाहिरी चक्रपथको सडक चौडाइ ११ मिटरको भएकाले स्थानीयवासीले जग्गाको मुआब्जा मागेपछि निर्माण हुन लागेका केही स्थानमा पनि अवरोध भएको जिल्ला समन्वय समिति भक्तपुरले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?