logo
२०८१ बैशाख ८ शनिवार



पर्यटकको सेलिब्रेटी बन्दै केटो

खुला |


पर्यटकको सेलिब्रेटी बन्दै केटो


शालिग्राम नेपाल

सौराहा (चितवन), माघ १५ गते । कसैलाई सेल्फी खिच्न तँछाड मछाड, कोही छोएर फोटो खिच्न आतुर । आन्तरिक पर्यटक हुन् वा वाह्य सबै पर्यटक आ–आफ्नो मोबाइल फोन, डीएसलआर क्यामरा निकालेर फोटो खिचिहाल्छन् । कोही त माथि चढुँला झैँ गर्छन् । कोही भने धपाएर हिँड्छन् ।
यो हो चितवनको सौराहा क्षेत्रमा चर्ने गैँडा देखेपछि पर्यटकको व्यवहार । एक वर्षअघि करिब चार वर्षको गैँडा सौराहा क्षेत्रको बस्तीमा चर्दै आएको छ । बस्तीमा रहेको गैँडा कहिलेकाहीँ होटलको छेउमा चर्न आउँछ । त्यहाँ आएका पर्यटकले दिएको खाने सामग्री, होटल सञ्चालकले दिने सागसब्जी खान गैँडाको केटो आउने गर्दछ ।
स्वदेशी तथा विदेशी पर्यटक एकसिङ्गे गैँडा र पाटेबाघ हेर्न चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारीमा जाने गर्दछन् । त्यही गैँडा बस्तीमा आएपछि गैंँडा नदेखेकालाई सहज भएको छ ।
दुई देशका राजदूतलाई लिएर चितवन राष्ट्रिय निकुञ्ज आउनुभएका भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य आँखै अगाडि गैँडा देखेपछि अचम्ममा पर्नुभयो । भन्नुभयो “लौ यो मौकामा फोटो खिच्नु प¥यो । ”
जङ्गलमा परबाट देखिने गैँडा छोएर फोटो खिच्न पाउँदा अलगै आनन्द आयो वैद्यले भन्नुभयो । उहाँमात्र होइन गैँडा हेर्न जम्मा भएका सेल्फी खिच्न तँछाड मछाड गरिरहेका थिए । विदेशी पाहुना त अझ अचम्भित
भएका थिए ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले भन्नुभयो, “यो केटो हाम्रा लागि गहना हो, मानिससँग घुलमिल भएको छ । ” पर्यटकले सेल्फी खिच्नु हुन्छ सफारीमा जाँदा कहिलेकाहीँ देखिँदैन यहाँ आए जतिबेला पनि भेटिन्छ ।
जङ्गल गएर आएकाले देखेनन् भने यहाँ हेर्न पाइन्छ उहाँले भन्नुभयो । एक वर्षदेखि यो गैँडा यहाँ छ । जङ्गलभित्र लगे पनि फेरि यहीँ आउँछ । यो गैँडाका कारणले पनि पर्यटक आउने गर्दछन् । स्थानीय बासिन्दालाई सामान्य भएको छ, बाहिरबाट आउनेलाई नजिकै गैँडा देख्न पाउनु ठूलो विषय हो अध्यक्ष भट्टराईले भन्नुभयो ।
होटल व्यवसायी सुमन घिमिरेले भन्नुभयो, “यसले ठूलो हानी गरेको छैन तर यसलाई जिस्काउने, छुने काम गर्न हुँदैन यसको संरक्षणमा हामी
जिम्मेवारी हुनुपर्छ । ”
मानवसँग घुलमिल भएकाले यसलाई नियन्त्रणमा लिएर जङ्गलमा लैजान निकुञ्ज प्रशासनले चासो दिएको छैन । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले भन्नुभयो, “मानिससँग घुलमिल भएको छ त्यसैले हामीले त्यति धेरै ध्यान दिएका छैनौँ । ” एक÷दुई पटक जङ्गलभित्र लगेको पनि हो– उहाँले भन्नुभयो । फेरि बस्तीमा आएपछि हामीले कुन विधिबाट व्यवस्थापन गर्न सकिन्छ भन्ने सोचेका छौँ ।
अहिलेसम्म मानिसलाई आक्रमण नगरे पनि जङ्गली जनावर मानव बस्तीमा हिँड्नु जोखिम भएको संरक्षणकर्मीको भनाइ रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?