logo
२०८० चैत्र १५ बिहीवार

  कोरोना भाइरसको त्रासदी 



एक करोड जनसंख्या भएको वुहान सुनसान

अन्तर्राष्ट्रिय |


एक करोड जनसंख्या भएको वुहान सुनसान


काठमाडौं, माघ १२ गते । चीनको वुहान शहरको जनसंख्या करीब एक करोड दश लाख रहेको छ । बेलायतको लण्डन जत्तिकै हो । तर सडकमा मानिस भेटिन्न । मध्य चीनमा अवस्थित वुहान शहर विश्वका विभिन्न भूभागबाट चीन प्रवेश गर्ने मुख्य द्वार हो । तर शहर अहिले विश्वका लागि बन्द गरिएको छ । अधिकांशलाई प्रवेश र बर्हिगमनको अनुमति दिइएको छैन् ।

वुहानको सडकमा मानिस भेटिन्न । शहरका गल्ली खाली देखिएका छन् । शहरमा यातायातका सबै साधन बन्द गरिएको छ । विशेष अनुमति लिइएको सबारी मात्रै वुहानको सडकमा गुडाइने व्यवस्था गरिएको छ । सरकारी सबारी साधन भने सञ्चालनमा रहेको छ । विश्वका चर्चित ब्राण्डहरु स्टारबक्स, म्याकडोनाल्डले हुबेइ प्रान्तमा रहेको आफ्नो ९० वटै शाखा बन्द गरेको छ । यद्दपी चिनियाँ अधिकारीहरुले भने आपूर्ति व्यवस्था अत्यन्तै चुस्त रहेको जनाएको छ ।

डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा प्रथमपटक देखिएको कोरोना भाइरसको संक्रमण अहिले हुवेइ प्रान्तको अधिकांश स्थलमा प्रकोपको रुपमा लिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ । चीनमा मात्रै उक्त भाइरसको संक्रमणले कम्तिमा ५६ जनाको मृत्यु भएको छ । दुई हजार बढी प्रभावित भएका छन् ।

राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार विरामी हुनेको संख्या एक हजार ९ सय ७५ रहेको छ । विरामी भएका मध्ये ३२४ जनाको अवस्था गम्भीर रहेको पनि आयोगले जनाएको छ । यसबाट निको भएर करिब एक हजार जना व्यक्ति अस्पतालबाट घर फर्किएका छन् तर उनीहरुलाई पनि विशेष निगरानीमा राखिएको छ । उक्त सङ्क्रमणको उत्पत्ति भएको उहान क्षेत्रमा सरकारले बढी निगरानी राखिरहेको पनि अधिकारीहरुले बताएका छन् । सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने १८ शहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायात साधन चलाउन प्रतिबन्ध लगाइएको छ ।

मृतक र संक्रमितको संख्या बढ्दै गएपछि चीनले आइतबारदेखि देशब्यापीरुपमा जङ्गली जनावरको बेचबिखनमा प्रतिबन्ध लगाएको छ ।

यसैबीच अमेरिकाले मध्यचीनमा घातक भाइरसको केन्द्रमा फसेका अमेरिकी कर्मचारी र नागरिकलाई उद्धार गर्न विशेष विमान सेवा शुरु गर्न लागेको जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले उहानस्थित आफ्ना कन्सुलर कार्यालयमा कार्यरत कर्मचारी र अरु अमेरिकीलाई उद्धार गर्न चीनको वुहानतर्फ अमेरिकी बिमान मङ्गलबार प्रस्थान गर्ने बताएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या थपिदै गएको छ । आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसले संक्रमित तेस्रो व्यक्ति फेला परेको बताउनुभएको हो ।

प्रभावित क्षेत्रमा विभिन्न सतर्कता अपनाइएको चीन सरकारले जनाएको छ । सरकारले देशभरीको उडान, रेल र बससेवामा पनि उच्च सतर्कताका लागि आह्वान गरेको छ । मानिसको बढी आवतजावत हुने विमानस्थल, बसपार्क, रेल स्टेसन लगायतमा स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको छ भने जङ्गली जनावर र पशु ओसार पसार तथा उपभोगमा कडाई गर्न निर्देशन दिइएको छ । सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्याण्डमा छोइसकेको बताइन्छ । मकाऊमा उक्त भाइरसले संक्रमित पाँचौं व्यक्ति फेला परेको छ ।

कोरोना भाइरस युरोपमा पनि फैलिन थालेको छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणले ज्वरो आउने, खोकी लाग्ने र सास फेर्न गाह्रो हुने यस सङ्क्रमणपछिका लक्षण हुन् । यस भाइरसको सङ्क्रमणपछि शरीरमा अक्सिजनको मात्रा कम हुँदै जाने पनि अर्को एक समस्या हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?