logo
२०८० चैत्र १६ शुक्रवार



चार सहकारी एकीकृत

प्रदेश |


चार सहकारी एकीकृत


बागलुङ, माघ ९ गते । जिल्लाका चार सहकारी एकापसमा गाभिएका छन् । कालिका, हाम्रो धौलागिरि बचत तथा ऋण, जनता सञ्चार र आदर्श नमूना बचत तथा ऋण सहकारी संस्था गाभिएका हुन् । एकीकरणपछि सहकारीको नाम कालिका सहकारी संस्था लिमिटेड राखिएको छ ।

एकीकृत पूँजीको विकास, दोहोरो सदस्यता अन्त्य र सहकारीको गुणस्तर बढाउने उद्देश्यसहित सहकारी एकीकरण गरिएको हो । एकीकृत सहकारी संस्थाको अध्यक्षमा हिमालप्रसाद शर्मा चयन हुनुभएको छ ।

सहकारी सङ्घसंस्था एकीकरण कार्यविधि–२०७०, सहकारी ऐन र नियमावलीको व्यवस्थामा टेकेर सहकारी एकीकरण गरिएको अध्यक्ष शर्माले बताउनुभयो । “आउँदो शनिबार हुने साधारणसभाबाट एकीकरणलाई अनुमोदन गरेर अगाडि बढ्छौँ”, उहाँले भन्नुभयो ।

एकीकरणपछि सहकारीको कूल शेयर पूँजी रु पाँच करोड २३ लाख पुगेको छ । यस्तै शेयर सदस्य सङ्ख्या ६२१ छ । रु नौ करोड बचत र रु एक अर्ब १३ करोड वार्षिक कारोवार रहेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । सहकारीको कार्यक्षेत्र जिल्लाभर छ ।

पूँजी, भौतिक तथा मानवीय संसाधनद्वारा सक्षम बनाउन तथा दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुने गरेका छन् । एकीकरणका लागि सम्बन्धित सहकारी संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा समितिलगायत अन्य समिति र पदाधिकारीसँग छलफल गरी सहमति जुटाउनुपर्ने प्रावधान छ ।

यस्तै शर्त तथा कार्यविधि तय गर्न संयुक्त कार्यदल बनाउनुपर्ने, कार्यविधि साधारणसभामा लैजाने र साधारणसभाबाट पारित गरी आवश्यक प्रक्रियामार्फत सहकारी संस्था एकीकरण गर्न सकिने व्यवस्था एकीकरणसम्बन्धी कार्यविधि–२०७० ले गरेको छ ।

यस्तै रामरेखा बहुउद्देश्यीय, रात्माटा कृषि र मूलपानी कालिका सहकारी संस्थालाई एकीकरण प्रक्रियामा ल्याउन छलफल चलिरहेको कालिका सहकारीले जनाएको छ । हालसम्म जिल्लामा १५ भन्दा बढी सहकारी संस्था एकीकरण भइसकेका छन् । जिल्लामा पहिलोपटक विसं २०७० मा बागलुङ सदरमुकाममा रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था र छिमेकी तित्याङको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको थियो । सरकारले सहकारी संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन एकीकरणको नीति ल्याएको हो । जिल्लामा ४०० बढी सहकारी संस्था छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?