logo
२०८० चैत्र १६ शुक्रवार



स्थानीयले निःशुल्क जग्गा दिएपछि बन्यो, गाउँपालिकाको भवन

शिक्षा |


स्थानीयले निःशुल्क जग्गा दिएपछि बन्यो, गाउँपालिकाको भवन


मधुसुधन तिमल्सिना

काभ्रे, माघ ८ गते । छाप्रोबाट सेवा दिइरहेको महाभारत गाउँपालिकाको आफ्नो सुविधा सम्पन्न भवन बनेको छ । त्यहाँका स्थानीय १२ जनाले १६ रोपनी जग्गा निःशुल्क हस्तान्तरण दिएपछि आफ्नो सुविधा सम्पन्न भवन भएको हो । जिल्लाको विकट महाभारत गाउँपालिकाले स्थानीयवासीले निःशुल्क जग्गा दिएका छन् । गाउँपालिकाको भवन बनाउन १२ जना स्थानीयले १६ रोपनी जग्गा निःशुल्क दिएका हुन ।

महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्वाले वडा न ६ मा रहेको देविटारमा स्थानीयले १६ रोपनी जग्गा निःशुल्क दिएपछि भवन बनाएको बताउनुभयो । उहाँले एक करोड ७० लाख लागतमा गाउँपालिका भवन बनाएको बताउनुभयो । प्रदेश सरकारबाट ८० लाख र महाभारत गाउँपालिकाले ९० लाख रुपियाँमा २४ कोठा भवन बनेको छ । सातवटा गाउँपालिका रहेको काभे्रमा महाभारतले पहिलो भवन बनाएर सेवाग्राहीलाई सेवा दिन सुरु गरेको छ ।

महाभारत गाउँपालिका वडा न ६ का स्थानीयले गाउँपालिका भवन बनाउन जग्गा दिएका थिए । स्थानीय सुनबहादुर बल, बुम्बा दोर्जे लामा, काजिमान मुक्तान, दर्जमान मुक्तानले निःशुल्क जग्गा दिनुभएको थियो । त्यस्तै बोरसमान मोक्तान, भीमबहादुर थिङ, बखतमान माझी, जगतबहादुर माझी, जगतबहादुर अस्थानी, पदमबहादुर माझी, लवध्वज वाईवा, बमबहादुर अस्थानी र छेवाङदोर्जे लामा निःशुल्क जग्गा दिनुभएको हो । निःशुल्क जग्गा दिनेलाई एक कार्यक्रम मार्फत गाउँपालिकाले सम्मान गरेको थियो । उहाँहरुले आफूहरुले दिएको जग्गामा गाउँपालिका भवन बनेको देख्दा खुशी लागेको जनाए ।

जिल्लामा रहेका मण्डनदेउपुर नगरपालिका, बेथानचोक, खानीखोला, चौँरीदेउराली, भुम्लु, रोसी गाउँपालिका भाडामा सञ्चालन भइरहेका छन तर विकट रहेको महाभारतले भने निःशुल्क जग्गा लिएर भवन समेत बनाएर सेवा दिन सुरु गरेको जनाएको छ । बनेपा, धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्ध नगरपालिका भने आफ्नै भवनबाट सञ्चालनमा रहेका छन । मण्डनदेउपुरले जग्गा लिएर बनाउन सुरु गर्ने जनाएको छ । त्यस्तै अन्यले पनि जग्गा खोजिरहेको बताएका छन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?