logo
२०८० चैत्र १६ शुक्रवार



विस्फोटक पदार्थमा नेपाल आत्मनिर्भर

खुला |


विस्फोटक पदार्थमा नेपाल आत्मनिर्भर


देवबहादुर कुँवर

काठमाडौँ, पुस २७ गते । भौतिक पूर्वाधार तथा विकास निर्माण आयोजनामा प्रयोग हुने विस्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ । उत्पादनसँगै यसको गुणस्तर र मूल्य भने चर्को देखिएको छ ।
यहाँ उत्पादित विस्फोटक पदार्थको बिक्री मूल्य प्रतिकिलो १९८ रुपियाँ पर्ने गर्दछ तर भारतबाट आयात हुने विस्फोटक पदार्थको मूल्य भने प्रतिकिलो ८७ भारुमा खरिद गर्न सकिन्छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे विस्फोटक पदार्थको मूल्य घटाउने विषयमा छलफल हुनुका साथै गुणस्तरमा बढी ध्यान दिइएको बताउनुहुन्छ । उहाँका अनुसार, कच्चा पदार्थ खरिदमा मात्रै एक सय ५२ रुपियाँ ८० पैसा लागत पर्ने हुँदा महँंगो भएको हो ।
हाल सेनाले मकवानपुरको सुनाचुरीमा सञ्चालित नयाँ प्लान्टले सडक र सुरुङमार्ग तथा जलविद्युत् आयोजना निर्माणका लागि विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । स्वदेशमै विस्फोटक पदार्थ उत्पादन हुँदा खरिद, ढुवानी तथा प्रयोगमा सहज भएको छ ।
नेपाली सेनाको सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयका अनुसार, नयाँ प्लान्टबाट हाल दैनिक सात घण्टाको दरले एक सिफ्ट सञ्चालन गर्दा एक वर्षमा दुई हजार चार सय मेट्रिक टन विस्फोटक उत्पादन हुन्छ तर भारतबाट आयात हुने विस्फोटक पदार्थको तुलनामा नेपाली उत्पादन गुणस्तर र मूल्य चर्को भएकाले प्रयोगमा समस्या रहेको गुनासो निर्माण व्यवसायीको छ । नेपालमा विस्फोटक पदार्थको माग वार्षिक पाँच हजार मेट्रिक टन रहेको छ ।
‘‘नयाँ प्लान्टलाई दैनिक तीन सिफ्टसम्म सञ्चालन गर्न सकिन्छ’’, सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशक उपरथी अजितबरसिंह थापाले भन्नभुयो, ‘‘तीन सिफ्ट सञ्चालन गर्दा सात हजार दुई सय मेट्रिकटन विस्फोटक पदार्थ उत्पादन हुन्छ । ’’नयाँ प्लान्टबाट उत्पादित विस्फोटक पदार्थमा एक वर्षको गुणस्तर ‘इन्स्योरेन्स’ अवधिको व्यवस्था गरिएको छ । सुनाचुरी प्लान्टबाट गुणस्तर परीक्षण हुने गरेको प्रवक्ता पाण्डेले बताउनुभयो । यसअघि तीन महिनाको ‘इन्स्योरेन्स’ अवधि तोकिएको थियो । गत भदौदेखि परीक्षण उत्पादन सुरु गरेको सो प्लान्टबाट हालसम्म करिब ४० मेट्रिकटन विस्फोटक पदार्थ बिक्री भइसकेको छ । जलविद्युत् र सडक निर्माणमा संलग्न १७ वटा आयोजनाले विस्फोटक पदार्थ खरिद गरेका हुन् ।
बेनीघाट आरुघाट लोकभञ्ज्याङ सडक आयोजना, साञ्जेन जलविद्युत् आयोजना, मैलुङखोला जलविद्युत् आयोजनालगायतले सेनाको विस्फोटक पदार्थ खरिद गरिरहेको जानकारी उहाँले दिनुभयो । विस्फोटक पदार्थ उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ ‘आमोनियम नाइट्रेट’ अन्य मुलुकबाट ल्याउनु पर्ने भएकाले केही महँगो भएको हो । त्यसमा पनि प्रधानसेनापतिबाट मूल्य समायोजन गर्न निर्देशन भएको जनाइएको छ । जनशक्ति परिचालन तथा प्रशासकीय खर्च घटाउन माग गरिएको छ ।
सेनाले २०३७ सालमा स्वयम्भूस्थित स्वयम्भू बारुदखानाबाट वार्षिक दुई सय मेट्रिक टन विस्फोटक पदार्थ उत्पादन गर्न थालेको हो । आर्थिक वर्ष २०६२÷०६३ बाट एक हजार मेट्रिकटन उत्पादन गर्ने गरी नयाँ प्लान्ट जडान गरिएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?