logo
२०८० चैत्र ६ मंगलवार



पहिलो बालमैत्री गाउँपालिका घोषणाको तयारी

खुला |


पहिलो बालमैत्री गाउँपालिका घोषणाको तयारी


हेटौँडा समाचारदाता
हेटौँडा, पुस २६ गते ।
मकवानपुरको मनहरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन भएको गाउँपालिकाको रुपमा घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाले मनहरीमा पत्रकार सम्मेलन आयोजना गरी पुस २८ गते बालमैत्री गाउँपालिकाको घोषणा गर्न लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा अध्यक्ष एकराज उप्रेतीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलबाट बालमैत्री गाउँपालिका घोषणा गर्न लागिएकोे जानकारी दिनुभयो । उहाँका अनुसार देशभर रहेका ४६० वटा गाउँपालिकामध्ये मनहरी गाउँपालिकाले पहिलोपटक बालमैत्री स्थानीय शासन पद्धति अवलम्बन गर्न लागेको हो ।
बालमैत्री स्थानीय शासन पद्धति अवलम्बवनका लागि पूरा गर्नुपर्ने ३९ वटा सूचक गाउँपालिकाले पूरा गरी जिल्ला समन्वय समितिबाट समेत अनुगमन गराई प्रमाणित गरिएको गाउँपालिकाले दाबी गरेको छ । पत्रकार सम्मेलनमा बोल्दे उपाध्यक्ष मनिला बिष्टले ३९ वटै सूचकमध्ये बाल विवाहको न्यूनिकरण र बाल श्रम न्यूनिकरणका लागि गाउँपालिकाले निकै मिहेनत गर्नुपरेको बताउनुभयो । बालमैत्री घोषणापछि बाल विवाह र बाल श्रम न्यूनिकरणको अभियानलाई झन् सशक्त बनाइने उहाँले बताउनुभयो । उपाध्यक्ष बिष्टका अनुसार अभियानको क्रममा ११ जोडीको बालविवाह बदर गरिएको छ ।
त्यसैगरी दर्जनौँको संख्यामा रहेका निकृष्ट श्रममा आश्रित बालबालिकाहरुलाई विद्यालय फिर्ता गराइएको छ । गाउँपालिकामा आर्थिक बर्ष २०७५/७६ मा ९०५ जना गर्भवती महिला रहेकामा तीमध्ये ४ पटक गर्भजाँच गराउनेको संख्या ८५८ जना र २२५ वटा आइरन चक्की खानेको संख्या ८१५ रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । तीमध्ये दक्ष जनशक्तिबाट सुत्केरी गराउनेको संख्या ८१५ जना रहेको थियो ।
पछिल्लो तथ्यांक अनुसार मनहरी गाउँपालिकामा ८६५५ घरधुरीको कुल ४६ हजार ८५३ जना जनसंख्या रहेको छ । तीमध्ये ८११६ जना बालक र ७६२३ जना बालिका गरी रहेका छन् । कूल ८६५५ घरधुुरीमध्ये स्वच्छ पिउने पानी व्यवस्था सबैमा रहेको गाउँपालिकाले जनाएको छ । साबुन पानीले हात धुने व्यवस्था ८१२६ घरधुरीमा रहेको सर्वेक्षणले देखाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाभित्र ८०६२ घरमा शौचालय रहेको पाइएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?