logo
२०८१ बैशाख ८ शनिवार



देशभर वर्षा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात

खुला |


देशभर वर्षा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात


काठमाडौँ, पुस २४ गते । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बेलुकाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशैभरि बदलीसहित वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भइरहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “पश्चिमी वायुको प्रभाव भोलिसम्म कायम रहनेछ”, मौसमविद् बासीले भन्नुभयो । हाल देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने तथा बाँकी स्थानमा सामान्य बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगका अधिकांश भू–भागमा हिमपात भइरहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगमी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेकाले यसकै कारणले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन आग्रह गरेको छ । राति देशको मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि देशका पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । शनिबार देशका पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ११ दशमलव नौ डिग्री सेल्सियस रहेको छ । यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेको छ ।

यसैबीच सुदूरपश्चिममा तेस्रोपटक भारी हिमपात भएको छ । हिमपातका कारण यहाँका मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने जनजीवन प्रभावित भएको छ । बुधबार रातिदेखि हिउँ परिरहेको छ । डडेल्धुरा जिल्ला सदरमुकामसहित घना जङ्गल एवं उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ । डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात शुरु भएसँगै चिसो बढेको हो ।

हिमपातले चिसो बढेकाले विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने मजदूर वर्ग बढी प्रभावित भएका छन् । हिउँ जम्न थालेका कारण दैनिक जनजीवनसमेत कष्टकर बन्दै गएको छ । हिमपातले सुदूरपश्चिमका पहाडी सात जिल्ला बैतडी, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङका सडक अवरुद्ध भएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य राजमार्गका रूपमा रहेको भीमदत्त राजमार्ग, दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध छन् ।

डडेल्धुराको अमरगढी–६ भालुमारे, अमजमेरु गाउँपालिका–१ अनारखोलीबजार, गन्यापधुरा–१ को साहुँखर्क, आलिताल–१ को हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

बुधबार राति हिमपात शुरु हुनुभन्दा पहिले नै यातायात साधन सञ्चालन गर्न नदिई सुरक्षित स्थान तथा होटल बास भएको स्थानमै रोकिए पनि केही सवारी साधन हिउँमा फसेका छन् । अवरुद्ध सडक खुलाउन डोजरको प्रयोग गरिएको भए पनि हिमपात जारी रहेकाले सडक खुलाउन समस्या भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो । बिहान २ बजेदेखि शुरु भएको हिमपात अहिले पनि जारी छ । उता बैतडीको खोड्पे बजार, ढोल्यामोट, सिरभाबर, मुस्याचौर, सतबाजलगायतका स्थानमा राजमार्ग पूर्णरूपमा बन्द रहेको छ ।

यसैबीच गोरखापत्र समाचारदाता गोकर्ण दलायका अनुसार, बैतडीमा पाँचौ पटक हिमपात भएको छ । मङ्सिर अन्तिम सातादेखि पुस २४ गते बिहानसम्म पाँच पटक हिमपात भएको छ । पाँचौ पटक भएको हिमपात बैतडी सदरमुकामसम्मै आईपुगेको छ । बाक्लो हिमपातले बैतडी–बझाङ, दार्चुला र डडेल्धुराको यातायात पूर्ण रुपमा ठप्प भएको छ ।

बैतडीको खोड्पेमा तीन फिट हिँउ पर्दा बझाङ र डडेल्धुरा जाने यातायातका साधन खोड्पेमा अलपत्र परेका छन् । त्यसै गरि बैतडीको सतबाँझमा बाक्लो हिमपात हुँदा दार्चुला जाने यातायातका साधन चल्न सकेका छैनन् ।

पाँचौ पटक भएको भारी हिमपातले बैतडीको खेड्पे, सतबाँझ, श्रीभावर, देहिमाडौं, मुस्याचोर, दुदिलाखान, सिल्लेगाडा, पुरचौडी हाट, सिगास, ग्वाल्लेक, अनारखोली, हतास, विप्याकटाल, गाँजरी, मेलौली लयातका दर्जनौ स्थान हिमपातले ढाकिएका छन् ।

बैतडीको महाकाली किनार र झुलभघाट बाहेक जिल्लाका सबै स्थानमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । हिमपातले अबरुद्ध भएका सडक डोजरले सफा गर्न समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रनाउ डिल्लीनारायण पाण्डेयले बताउनुभयो ।

प्रनाउ पाण्डेयले भन्नुभयो, “विहीबार बेलुकीसम्म बैतडीको आन्तरिक सडक सुचारु गर्ने गरि हिउँ सफा गर्ने पहल भईरहेको छ । बैतडी–बझाङ सडक खण्डमा बाक्लो हिमपात भएकोले आज खोल्न सकिने अवस्था छैन”

हिमपातले बैतडीमा अत्याधिक चिसो बढेपछि जन जीवन प्रावित बनेको छ । खोड्पेमा बाक्लो हिमपातले अत्याधिक चिसो बढेको छ ।

चिसो बढेपछि बैतडी प्रहरीले जिल्लाभरि निःशुल्क दाउरा बितरण गरेर चोकचोकमा आगो बाल्ने अभियान थालेको छ । बाक्लो हिमपातले सडकमा आगो बाल्न सकिने अवस्था नरहेको खोड्पे बजार व्यवस्थापन समितिका अध्यक्ष हरिश बिष्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?