logo
२०८१ बैशाख ८ शनिवार



चालकमा अनुभवको कमीले दुर्घटना

खुला |


चालकमा अनुभवको कमीले दुर्घटना


गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते । साँघुरो सडकमा सावधानी अभाव तथा भौगोलिक अवस्था अनुसारको चालकको अनुभव कमीका कारण सिन्धुपाल्चोकको छ किलोमा बस दुर्घटना भएको निष्कर्ष छानबिन समितिको छ । बसकोे स्टेरिङ जाम रहेको, प्राविधिक समस्या देखिएको छ ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख राजेन्द्रराज शर्माको संयोजकत्वमा गठित सो समितिले उक्त निष्कर्ष निकालेको हो । पहाडी क्षेत्रमा चलाउन चालकमा पर्याप्त अनुभवको अभाव, असावधानी र लापारबाही पनि दुर्घटनाको कारण देखिएको समितिको ठम्याइ छ । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डमा पर्ने छ किलोमा गत मङ्सिर २९ गते बा. ४ ख ४४६८ नम्बरको रिजर्भ बस दुर्घटना भएको थियो । सो दुर्घटनामा १६ जनाको मृत्यु भएको थियो ।
अनुसन्धानका क्रममा बसको चालकसँग भएको कुराकानीमा चालकले साँघुरो घुम्तीमा ब्रेकको हावाले काम नगरेपछि ‘ब्रेक फेल’ भएको बताए पनि ‘ब्रेक फेल’ नभएको देखिएको उहाँले जानकारी दिनुभयो । बस चलाउनुअघि स्टेरिङमा ‘गेयर आयल’ हालिएको पाइएको बताउँदै उहाँले दुर्घटना भएको ठाउँ भौगोलिक दृष्टिकोणले ‘ब्रेक फेल’ हुने खालको नरहेको स्पष्ट पार्नुभयो ।
बसको ब्रेक एक्कासि फेल हुनुको प्राविधिक पुष्ट्याइ हुन नसकेको बताउँदै उहाँले चालकको १६ वर्षको अनुभव रहे पनि पहाडी क्षेत्रमा गाडी चलाएको अनुभव नरहेको पाइएको बताउनुभयो । उहाँका अनुसार ३२ सिट क्षमता रहेको सो बसमा ३४ जना यात्रा गरिरहेका थिए । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा १० का चालक चिपबहादुर तामाङ अहिले अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका छन् ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?