logo
२०८० चैत्र १६ शुक्रवार



भूमाफियाको सकस भोग्दै महानगरका पदाधिकारी

खुला |




गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस २४ गते । गल्लीगल्छेडा र भित्री बाटोमा सस्तोमा घरजग्गा किन्ने र बाटो फराकिलो पारिदेऊ भनेर वडा कार्यालयमा दबाब सिर्जना गर्ने प्रवृत्तिबाट काठमाडौँ महानगरपालिकाका र यसका वडा कार्यालय आक्रान्त छन् ।
काठमाडौँ महानगरपालिका–२९ का अध्यक्ष कुशकुमार ढकाल भन्नुहुन्छ, “यसमा भूमाफियाको पनि सक्रियता रहेको छ । सस्तोमा घरजग्गा किन्ने र टोलका छरछिमेकलाई पीडा दिने प्रकारले बाटो फराकिलो गरिदेऊ भनेर वडा कार्यालय धाउनेले बाटो फराकिलो गरिदिएन भनेर वडा कार्यालयलाई बदनाम पनि गरिरहेका छन् ।”
महानगरपालिका वडा नं. १४ की अध्यक्ष शोभा सापकोटा यस्ता मागकर्ता महानगरपालिकामा बसोवास गरेजस्तो नै भएन भन्दै बाटो फराकिलो गरिदेऊ भन्न आउने गरेको बताउनुहुन्छ । यो सबै वडाको समान समस्या रहेकाले महानगरपालिकाले बाटो फराकिलो गर्दा छरछिमेकको सहमतिबेगर बाटो फराकिलो नगर्ने नै निर्णय गरेको छ ।
कुनाकाप्चामा सस्तोमा जग्गा किन्ने, घर बनाउने र बाटो चौडा चाहियो भन्नेलाई फराकिलो बाटो भएको स्थानमा सर्नुस् भन्ने गरेको अध्यक्ष सापकोटाको भनाइ छ । महानगरपालिका वडा नं. ३१ का अध्यक्ष नारायणप्रसाद भण्डारी बाटो चौडा गरिदेऊ भनेर धम्क्याउनसमेत आउने गरेको बताउनुहुन्छ । महानगरपालिकाले यस्ता माग राख्दै उपभोक्ता समिति गठन गर्ने र जनमानसमा दबाब सिर्जना गर्दै बाटो फराकिलो भएपछि महँगोमा घरजग्गा बेचेर हिँड्ने जमात नै सक्रिय रहेको पाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
विभिन्न वडा कार्यालयबाट यो समस्या आएको महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोल बताउनुहुन्छ । धेरै गल्ली भएको महानगरपालिकाको वडा नं. ३० मा यो समस्या टड्कारो रूपमा वडा कार्यालयले व्यहोरिरहेको छ । वडा कार्यालयका कर्मचारी सीताराम कँडेल भन्नुहुन्छ, “यस्ता मागकर्ताले निर्वाचित जनप्रतिनिधिसहित वडा कार्यालयको नै बदनाम
गरिरहेका छन् ।”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?