logo
२०८१ बैशाख १२ बुधवार



उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना

खुला |
पढ्नै पर्ने |


उच्च हिमाली भेगमा भारी हिमपात र पहाडी भेगमा पानी पर्ने सम्भावना


गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर २४ गते । नेपालका उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेकोले नेपालमा उच्च हिमपात हुने सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार हाल पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेको छ । यो प्रणाली पूर्व सर्दै नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने देखिन्छ । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो प्रणाली बिहीबार अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत हिमपातको सम्भावना रहेको छ । उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख गरेको छ ।

साथै यस प्रणालीका कारण देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ । बुधबार बाट शुरू भई यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?