logo
२०८० चैत्र १६ शुक्रवार



ठूलालाई पनि कानून लाग्छ महान्यायाधिवक्ता

राष्ट्रिय |


ठूलालाई पनि कानून लाग्छ  महान्यायाधिवक्ता


भद्रपुर,मङ्सिर २२ गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले ठूलालाई कानून नलाग्ने पुरानो मान्यतालाई बदल्न चाहेको बताउनुभएको छ । झापाको चन्द्रगढीमा जिल्ला सरकारी वकिलको कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन कार्यक्रममा उहाँले कानूनका दृष्टिमा सबै नागरिक समान हुन् भन्ने मूल्यमान्यताका आधारमा लोकतन्त्रको अनुभूति दिलाउने गरी न्यायिक क्षेत्रमा काम भइरहेको बताउनुभयो ।

गलत काम गरेपछि शक्तिशाली, ठूलो ओहोदा भएका र प्रतिष्ठित भनिएका व्यक्तिहरुसमेत प्रमाणका आधारमा कानूनी कार्वाहीको दायरमा आइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “हामी अभियुक्तलाई उसको पद र शक्तिका आधारमा होइन, प्रमाणका आधारमा हेर्छौं ।”

उहाँले समाजमा अपराध नियन्त्रण र कानूनीराज स्थापनाका लागि राज्यका सबै संयन्त्र निष्पक्षतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरुले व्यक्ति पक्राउ पर्नासाथ छुटाउन जाने र भनसुन गर्ने प्रवृत्ति त्याग्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मान्छे पक्राउ पर्नासाथ छाडिदिनुप¥यो भनेर जनप्रतिनिधिहरु ठूला मान्छेकहाँ धाउने गर्नुहुन्छ, यस्तो गर्नु गलत हो ।”

पश्चिम नेपालमा रहेको छाउपडी प्रथालाई प्रचलित कानूनले दण्डनीय किटान गरिसकेको जनाउँदै महान्यायाधिवक्ता खरेलले छाउपडीमा जाने र पठाउने दुवैलाई कानूनबमोजिम कारवाही हुने जानकारी दिनुभयो । अन्धविश्वासमा आधारित छाउपडी प्रथाका कारण महिलाहरुले ज्यानसमेत गुमाउनु परेको दुःखद अवस्था विद्यमान भएको हुँदा सरकार अन्धविश्वासविरुद्ध कठोर रूपमा प्रस्तुत हुने उहाँको धारणा थियो ।

सुविधासम्पन्न कार्यालय निर्माण

झापा जिल्ला सरकारी वकिलको कार्यालय भवन रु तीन करोड ७१ लाख ९० हजार लागतमा निर्माण भएको छ । पाँच कट्ठा तीन धुर क्षेत्रफलमा सो भवन निर्माणका लागि ह्याबिटेड आशिषदीप जेभी भद्रपुरले २०७४ साल असोज ९ गते ठेक्का सम्झौता गरेको थियो । निर्धारित अवधिभन्दा पाँच महिना ढिलो भवन निर्माण सम्पन्न भएको हो । पीडितमैत्री बयान कक्ष, छलफल कक्ष, पुस्तकालय, अतिथिगृह, आवासगृहसहित २६ कोठा रहेको सो भवन प्रविधिका दृष्टिले समेत अत्याधुनिक र सुविधासम्पन्न भएको जिल्ला सरकारी वकिलको कार्यालय झापाका प्रमुख केशव पन्तले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?