logo
२०८१ बैशाख ७ शुक्रवार



भान्सामा ग्यासभन्दा बिजुली सस्तो

खुला |


भान्सामा ग्यासभन्दा बिजुली सस्तो


प्रकृति अधिकारी

काठमाडौँ, मङ्सिर २२ गते । ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रूपमा सस्तो पर्ने अनुसन्धानले देखाएको छ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्राडा जगन्नाथ श्रेष्ठले भन्नुभयो, “एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । त्यसैले एलपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रूपमा फाइदा हुनेछ ।”
केन्द्रले यही मङ्सिर ७ गते सो अनुसन्धान गर्दा नमुनाका रूपमा आधा केजी चामल लिएको थियो । त्यसमा आधा लिटर पानी प्रयोग गरिएको थियो । चामल र पानीको तौल २.७९ केजी भएको थियो । उहाँले विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम (स्टिल)को भाडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा यो अनुसन्धान गर्दा एउटै प्रेसर कुकर प्रयोग गरिएको बताउनुभयो । कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धान्तअनुरूप भात पकाइएको थियो ।
ऊर्जाविद् प्राडा श्रेष्ठले ग्यास चुलोमा भात पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको जानकारी दिनुभयो । “इन्डक्सनमा पकाउँदा झण्डै तीन मिनेट छिटो पाक्ने रहेछ” उहाँले भन्नुभयो ।
अनुसन्धानका क्रममा एक पटक भात पकाउँदा एलपी ग्यासको ऊर्जा २५ ग्राम खपत हुने र इन्डक्सनमा पकाउँदा शून्य दशमलव १४२ किलोवाट आवर खर्च हुने गरेको पत्ता लगाइएको थियो । ऊर्जा खपतका बारेमा थाहा पाउन विभिन्न उपकरणहरू प्रयोग गरिएको थियो । “ऊर्जा खपतबारे थाहा पाउनका लागि विश्वमा जुन उपकरण प्रयोग गरिन्छन्, हामीले पनि तिनै उपकरणहरू प्रयोग गरेका थियौँ”,
उहाँले भन्नुभयो ।
दुई सिट्टीमा भात पाकेपछि खर्च भएको ऊर्जाको गणना गर्दा दुई रुपियाँ ४६ पैसा बराबरको ग्यास र एक रुपियाँ ४२ पैसा बराबरको विद्युत् खर्च भएको पाइएको थियो । सो रकम प्रतिसिलिन्डर एक हजार चार सय रुपियाँको हिसाबका आधारमा निकालिएको थियो । विद्युतीय ऊर्जाको हिसाब १५ एम्पियरको मिटर जडान गरिएको आधारमा १० रुपियाँ प्रतियुनिटको दरले निकालिएको हो ।
“नेपालीले २० प्रतिशत मात्र एलपी ग्यासको प्रयोगलाई विस्थापित गर्न सकेमा बर्सेनि अर्बाैं रुपियाँ बचत गर्न सक्नेछौँ” उहाँले थप्नुभयो, “नयाँ जलविद्युत् आयोजनाले विद्युत् उत्पादनको तयारीमा छन् । उनीहरूले उत्पादन गर्न थालेपछि भारतबाट पनि विद्युत् ल्याइरहनुपर्दैन र नेपालमा सबै खपत हुन नसक्ने अवस्था रहन्छ । त्यसैले पनि एलपीजी ग्यासलाई विस्थापित गरेर बिजुली बत्तीको प्रयोग बढाउनु जरुरी छ ।”
सरकारले २०७५–२०८५ साललाई ऊर्जा दशकका रूपमा घोषणा गरेको छ । गत २०७५ साल वैशाख २५ मा जारी स्वेतपत्रमा हरेक घर ऊर्जा घर, हरेक घरमा एक विद्युतीय चुलो भनेर उल्लेख गरिएको छ । नेपालमा दैनिक करिब ७२ हजार सिलिन्डर एलपी ग्यास खपत हुँदै आएको छ ।
सो १० करोड रुपियाँभन्दा बढी हुन्छ । बर्सेनि ४२ अर्ब रुपियाँभन्दा बढीको एलपी ग्यास खरिद हुँदै आएको छ । काठमाडौँ उपत्यकामा मात्र दैनिक खपत हुने ऊर्जाको ६९ प्रतिशत खाना पकाउनमा प्रयोग हुने गरेको छ । आर्थिक सर्वेक्षणले गत आर्थिक वर्ष २०७५।७६ को मध्यसम्ममा चार हजार १०२ गिगावाट आवर विद्युतीय ऊर्जा उपयोग भएको थियो । एक गिगावाट बराबर एक अर्बबाट हुन्छ ।
ऊर्जाविद् प्राडा. श्रेष्ठले इन्डक्सन चुलोबाट खाना पकाएर आर्थिक बचत गर्न गुणस्तरीय र दुईमुखे चुलो हुनुपर्ने, विद्युत् प्रवाह नियमित हुनुपर्ने, कम्तीमा १५ एम्पियरको विद्युत् लाइन जडान हुनुपर्ने, विद्युत् महसुल हालको भन्दा बढाउन नहुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?