logo
२०८१ बैशाख ८ शनिवार



सडक कार्यालयका तत्कालिन प्रमुख र चार कर्मचारी विरुद्ध मुद्दा

खुला |


सडक कार्यालयका तत्कालिन प्रमुख र चार कर्मचारी विरुद्ध मुद्दा


गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १६ गते । सडक डिभिजन कार्यालय जनकपुरका तत्कालीन प्रमुख दिनेश अर्यालसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रमुख अर्याल र लेखा प्रमुख जिवनाथ पोखरेलले ठेक्काको बोलपत्रमा केरमेट गरी सच्याएको भन्ने उजुरी उपर अनुसन्धान हुँदा कसुर गरेको पाइएको हो । अर्याल र पोखरेलसहित इन्जिनियर राजकुमार यादव र सन्जिवकुमार साहविरुद्ध समेत मुद्दा दायर गरिएको हो ।
ठेक्काको बोलपत्र मुल्यांकन समितिमा रही भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि. नयाँबजार, काठमाडौंले पेश गरेको बोलपत्रको आइटम नं. २.३ र २.६ को दररेट अंक र अक्षरमा सच्याई १९ लाख ५० हजार थपी सम्झौता गरेका थिए । अर्याल, पोखरेल, यादव र साहविरुद्ध १९ लाख ५० हजार बिगो कायम गरिएको हो ।
भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का संचालक सुरेशलाल श्रेष्ठ र गोपाल श्रेठ तथा भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का अख्तियारनामा प्राप्त मोहनप्रसाद यादवसँग मिलेमतो गरी सरकारी कागजात गैरकानूनी रूपमा सच्याइएको थियो ।
आफू र बोलपत्रदातालाई गैरकानूनी लाभ पु¥याई नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पु¥याएको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरिएको हो । भैरव कन्स्ट्रक्सनका सञ्चालकहरु तथा भैरव कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का अख्तियारनामा प्राप्त यादवविरुद्ध पनि १९ लाख ५० हजार बिगो कायम गरिएको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय, सुनसरीको सरकारी जग्गाको नक्साको धर्सा मेटाई व्यक्ति बिशेषको नाममा जग्गा बढ्ने गरी भ्रष्टाचार गरेको आरोपमा तत्कालीन नापी कार्यालयका चारजना कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ । कित्ताकाट कार्यमा संलग्न सर्भेक्षक उपेन्द्र दास र कित्ताकाटको कामलाई प्रमाणित गर्ने सर्भेक्षक योगेन्द्रप्रसाद यादव, सर्भेक्षक कपलेश्वर राम, सर्भेक्षक सुकदेव यादवविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
उक्त कार्यमा संलग्न तथा अनाधिकृत रूपमा कित्ताकाट गर्ने, नक्सामा कित्ता नं. चढाउने र प्लट रजिष्ट्ररमा विवरण राख्ने गैरकर्मचारी रमेश प्रसाद साह तथा जग्गाधनी रमेश कुमार श्रेष्ठ र आसमा खातुनविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।
सरकारी कर्मचारी तथा गैरसरकारी व्यक्तिहरू एकापसमा मिलेमतो तथा गैरकानूनी साँठगाँठ गरी नापी कार्यालयमा रहने महत्वपूर्ण फायल नक्साको धर्सोलाई मेटी जग्गाधनीहरुको जग्गाको क्षेत्रफल बढ्ने र सार्वजनिक जग्गा घट्ने गरी बिभिन्न मितिमा कित्ताकाट गरेका थिए । उक्त कार्यमा संलग्न प्रत्येक विरुद्ध ६ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।
गुरू जजुर माध्यमिक विद्यालय रक्षाचौर, दाङका राहत शिक्षक टेकमान थापाको नि.मा.वि. तहको नक्कली अध्यापन अनुमति पेश गरेको कसुरमा उहाँविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?