logo
२०८० चैत्र १६ शुक्रवार



जनगणनामा सामुदायिक प्रश्नावली पनि

खुला |


जनगणनामा सामुदायिक प्रश्नावली पनि


शान्ति लामा

काठमाडौँ, कात्तिक २७ गते । नेपालको १२औँ राष्ट्रिय जनगणना २०७८ मा दुई प्रकारका प्रश्नावली सोधिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले मूल प्रश्नावली र सामुदायिक प्रश्नावली गरी दुई प्रकारका प्रश्नावली तयार पारेको जनाएको छ । सामुदायिक प्रश्नावली राखिएको यो पहिलो पटक हो ।

विभागले सामुदायिक प्रश्नावलीका लागि प्रश्नहरू तयार गरी विज्ञसँग छलफल गरेको छ । स्थानीय तहको विभिन्न तथ्याङ्क ल्याउने उद्देश्यले सामुदायिक प्रश्नको अवधारणा ल्याइएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक प्रश्नावलीले मूल प्रश्नावलीबाट आउने तथ्याङ्कलाई भरपर्दाे बनाउने मद्दत गर्नेे छ ।”

विशेष गरी वडास्तरमा भएका सेवा सुविधाको मापन गर्ने प्रश्नहरू सामुदायिक प्रश्नावलीमा समावेश गरिएका छन् । जनगणनाको सामुदायिक प्रश्नावलीबाट नयाँ घोषणा गरिएका नगर तथा सहरहरूको सुविधाका विषयमा स्पष्ट तथ्याङ्क ल्याउने अपेक्षा गरिएको छ । पाँचवटा मुख्य विषयलाई सामुदायिक प्रश्नावलीले समेटेको छ । मुख्य जातजाति तथा भाषा, सेवा सुविधामा पहुँच, सहरी सेवा, प्राकृतिक जोखिम र वातावरण प्रश्नहरू समावेश गरिने जानकारी दिइएको छ ।

सामुदायिक प्रश्नावलीलाई जनगणनाको समयमा सुपरीवेक्षकमार्फत सोधिने छन् । विभागका जनसङ्ख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेका अनुसार सामुदायिक प्रश्नावली सुपरीवेक्षकले सम्बन्धित वडाध्यक्षलगायत अगुवाहरूलाई राखेर सोध्ने छन् । उहाँका अनुसार विभागले ६० देखि ६५ वटा प्रश्नलाई मूल प्रश्नावलीमा समावेश गर्ने तयारी गरेको छ । मुख्य प्रश्नावली फारामले मूलतः पारिवारिक विवरण र व्यक्तिगत विवरण सङ्कलन गरिने छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?