logo
२०८१ बैशाख ८ शनिवार



लुडोमा विवाद हुँदा रड प्रहारबाट एकको मृत्यु

खुला |


लुडोमा विवाद हुँदा रड प्रहारबाट एकको मृत्यु


सर्लाही समाचारदाता ।
सर्लाही, कात्तिक २२ गते । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा रड प्रहारबाट एकजनाको मृत्यु भएको छ ।
लुडो खेल्ने विषयमा विवाद भई रड हानाहान हुँदा विष्णु गाउँपालिका–२, पकडीगोठका ३० वर्षीय बीकाउ साहको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
रड प्रहारबाट गम्भीर घाईते भएका साहको उपचारका क्रममा शुक्रबार साँझ वीरगञ्जमा मृत्यु भएको हो । बिहीबार राती लुडो खेल्दै गर्दा विवाद भएपछि बीकाउ र सोही ठाउँका सन्तोष झाबीच रड हानाहान भएको थियो ।
घटनामा सामान्य घाईते भएका वर्ष ३० कै सन्तोष झाको जिल्ला अस्पताल मलङ्गवामा प्रहरी निगरानीमा उपचार भइरहेको एसपी भट्टराईले बताउनुभयो । उहाँले लुडो खेल्ने क्रममै विवाद भएको जानकारी आए पनि विवादको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको बताउनुभयो ।
मृतकका परिवारले सन्तोष र उनका परिवारका अन्य सदस्य समेत मिलेर बीकाउमाथि रड प्रहार गरेको बताएका छन् । प्रहरी पठाएर पीडितले नाम लिएका व्यक्तिको खोजी गर्दा उनीहरु घर छाडेर फरार भएका पाइएको एसपी भट्टराईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?