logo
२०८१ बैशाख ७ शुक्रवार



प्रदेश राजधानीमा बर्सेनि एक हजारभन्दा बढी घर थपिँदै

खुला |


प्रदेश राजधानीमा बर्सेनि एक हजारभन्दा बढी घर थपिँदै



ललित बसेल

सुर्खेत, कात्तिक ६ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर तोकिएसँगै यहाँ वार्षिक एक हजारभन्दा बढी घर थपिन थालेका छन् ।
विभिन्न जिल्लाबाट बसाइसराइ गरेर आउने भएपछि यहाँको जनसङ्ख्याका साथै घर निर्माण थपिँदै गएको हो । नगरपालिकाभित्र मात्र नभई आसपासका क्षेत्रमा समेत नयाँ घर निर्माण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । प्रदेश राजधानी बन्नुअघि र राजधानी बनिसकेपछि यहाँ नयाँ घर निर्माण गर्नेको सङ्ख्या निकै बढ्दो छ ।
नगरपालिकाको तथ्याङ्क अनुसार वीरेन्द्रनगरमा हाल बर्सेनि एक हजारभन्दा बढी नयाँ घर निर्माण हुने गरेका छन् । आर्थिक वर्ष ०७१÷७२ मा एक हजार ३९ जनाले नयाँ घर निर्माणका लागि नक्सा पास गरेका थिए । ०७२÷७३ मा दुई हजार ८३५ जनाले, ०७३÷७४ मा ४९१ जनाले घर निर्माणका लागि नक्सा पास गरेको तथ्याङ्कमा उल्लेख छ । यस्तै ०७४÷७५ मा ८३१ जनाले र ०७५÷७६ मा ९७४ जनाले नक्सा पास गरेको नगरपालिकाको तथ्याङ्कमा जनाइएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर विशाल अधिकारीले वीरेन्द्रनगरमा बर्सेनि एक हजारभन्दा बढी नयाँ घर निर्माण हुने गरेको बताउनुभयो । उहाँले राजधानी भएपछि वीरेन्द्रनगरमा अहिले एक हजार ३०० सम्म नयाँ घर निर्माण हुने गरेको जनाउनुभयो । बजार क्षेत्रभन्दा बाहिरका घर निर्माणको एकिन तथ्याङ्क नभए पनि अनुमानित रूपमा ७०० देखि ८०० का दरले नयाँ घर निर्माण भइरहेको उहाँको भनाइ छ ।
वीरेन्द्रनगरमा नयाँ घर निर्माण गर्नेहरूमा धेरैजसो कर्णाली अञ्चलका बासिन्दा रहेका छन् । त्यसो त कर्णालीका विभिन्न जिल्लाका बासिन्दाको घर पहिले पनि यहाँ नभएको होइन तर पछि कर्णाली प्रदेशको राजधानी घोषणा गरिएपछि जनसङ्ख्या र घर निर्माण गर्ने क्रम अझ बढेको नगरपालिकाले जनाएको छ । वीरेन्द्रनगरका १६ वटा वडामध्ये सबैभन्दा धेरै वडा नं. १ देखि १२ सम्ममा घर निर्माणको क्रम बढेको छ । वीरेन्द्रनगरमा बर्सेनि जनसङ्ख्याको चाप बढ्दो अबस्थामा छ ।
यहाँ कतिपय घर पुराना र भूकम्पका दृष्टिकोणले पनि जोखिमपूर्ण रहेको इन्जिनियर अधिकारीले बताउनुभयो । नगरपालिकाले नयाँ घर निर्माण गर्न अनिवार्यरूपमा भूकम्प प्रतिरोधी बनाउन निर्देशन दिएको छ । कर्णाली प्रदेश भूकम्प, बाढी पहिरोको उच्च जोखिम प्रदेश भएकाले पनि नगरपालिकाले यहाँ निर्माण हुने घरलाई सुरक्षित बनाउनतर्फ पनि लागेको छ । नगरपालिकाले नगरमा नयाँ बन्ने घरका लागि पहिला नक्सा पास गरेर मात्र घर निर्माणका लागि स्वीकृति दिन थालेको छ । भवन निर्माण गर्दा आचारसंहिता पालना गर्न नगरपालिकाले आग्रह गरेको छ । पछिल्लो समय नगरपालिका भित्र बन्ने अधिकांश भवन भूकम्प प्रतिरोधात्मक भएको दाबी नगरपालिकाले गरेको छ ।
नगरपालिकाले नयाँ मात्र नभएर पुराना घरलाई भूकम्पबाट सुरक्षित बनाउनका लागि घरधनीलाई जानकारी समेत दिन थालेको छ । पुराना र भूकम्पको उच्च जोखिममा रहेका घरलाई रेट्रोफिटिङमार्फत घरलाई सुरक्षित बनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?