logo
२०८० चैत्र १५ बिहीवार



आदिनाथ मन्दिर जीर्णोद्धार

खुला |


आदिनाथ मन्दिर जीर्णोद्धार


काठमाडौँ, असोज २३ गते ।  कीर्तिपुर नगरपालिकाको प्राचीन सम्पदा आदिनाथ मन्दिर करीब रु दुई करोडको लागतमा जीर्णोद्धार गरिएको छ ।

विसं २०७२ को भूकम्पका कारण मन्दिर जीर्ण भएपछि त्यसको मर्मतका लागि पुरातत्व विभागले खर्च व्यवस्थापन गरेको हो । लिच्छवीकालमा निर्मित सो मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बीले आस्था प्रकट गर्छन् । मन्दिरमा अवस्थित आदिनाथलाई हिन्दूले शिवशक्तिका रुपमा तथा बौद्धले लोकेश्वरका रुपमा पूजा गर्ने परम्परा छ । करीब दुई वर्षको समयावधिमा मन्दिर जीर्णोद्धार सम्पन्न गर्ने योजना राखिएको भए पनि प्राविधिक कारणले केही समय ढिलाइ हुन गएको पुजारी सरोज शाक्यले जानकारी दिनुभयो ।

मन्दिर परिसर २१ वर्ग फिटमा फैलिएको छ भने गजुरसहित साततल्ले रहेको मन्दिरको छानो पेगोडाशैलीमा निर्माण गरिएको छ । परापूर्वकालमा नख्खु दोभानमा फेला पारिएको उक्त मूर्तिमा शिव तथा पार्वतीको आकृति प्रतिविम्बन भएकाले आदिनाथ भनिएको हो । मन्दिर जीर्णोद्धारका क्रममा मूर्तिलाई त्यहाँबाट निकालेर मन्दिर परिसरको अर्को सुरक्षित स्थानमा सारिएको छ । आदिनाथको मूर्तिलाई मन्दिरमा प्रतिस्थापन गर्दा तान्त्रिक विधिबाट आज क्षमा पूजा गरी स्थानीय देवदेवतासँग अनुमति लिइएको छ । मूर्तिको यही असोज २५ गते प्राणप्रतिष्ठा गरिने पुजारी शाक्यले जानकारी दिनुभयो ।

उक्त मन्दिरमा असोज शुक्ल पूर्णिमा तथा चैत शुक्ल अष्टमीका दिन विशेष जात्रा लाग्छ । जात्रा भर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट भक्तजन सहभागी हुन्छन् । मन्दिरमा दर्शन गरेमा पारिवारिक सुखशान्ति कायम भई ठूलाठूला रोगव्याधिबाट मुक्त होइने विश्वास छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?