logo
२०८० चैत्र १६ शुक्रवार



भूमिगत सिंचाईको लागि दुई करोड रुपैयाँकाे वजेट

खुला |


भूमिगत सिंचाईको लागि दुई करोड रुपैयाँकाे वजेट


अमरराज नहर्की
तनहुँ, असोज ६ गते । तनहुँमा पहिलो पटक भूमिगत सिंचाईको लागि वजेट परेको छ । जमिन मुनीको पानीलाई सिंचाईको लागि तराई प्रयोग हुँदै आए पनि पहाडमा भने पहिलो पटक नयाँ प्रविधि अन्तर्गत भूमिगत सिंचाईको लागि वजेट परेको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय तनहुँले जनाएको छ ।

विभिन्न नौ वटा योजनाको लागि गण्डकी प्रदेश सरकारबाट २ करोड रुपैयाँ वजेट विनियोजन भई काम शुरु गरिएको कार्यालयका सूचना अधिकारी होमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार एक योजनामा ४० लाख र बाँकी ८ वटै योजनाको लागि जनही २० लाखको दरले वजेट विनियोजन भएको छ ।

देवघाट गाउँपालिकामा २ वटा योजना परेको छ । वडा नं ५ मा रहेको कालीमाटी मेशिन ड्रिल स्यालो ट्युवेल सिंचाई योजनाको लागि ४० लाख परेको छ । देवघाटकै कोटाटार सिंचाई योजना, घिरिङ गाउँपालिका–४ मा नयाँटार सोलार तथा भूमिगत सिंचाई योजनाको लागि २० लाख परेको छ ।

२० लाखको योजना पर्नेमा घिरिङ गाउँपालिका–४ स्थित नयाँटार सोलार तथा भुमीगत सिंचाई योजना र गड्यौलीटार भुमिगत सिंचाई प्रणाली रहेको छ ।
भानु नगरपालिकामा तीन वटा योजना परेको कार्यालयकी सव इन्जिनियर सोनी कार्कीले जानकारी दिनुभयो ।

कार्की अनुसार भानुमा वडा नम्बर ११ स्थित टुहुरेपसलमा नयाँवेशी जङ्गलधारी डिप ट्युवेल सिंचाई योजना, ३ नम्बर वडामा खहरेफाँट डिप ट्युवेल सिंचाई योजना र वडा नम्बर १० मा कालीमाटी डिप ट्युवेल सिंचाई योजना परेको छ ।

व्यास नगरपालिकामा एक योजना परेको छ । वडा नम्बर ८ मा रिस्ती डिप ट्युवेल लिफ्ट तथा पोखरी एकीकृत सिंचाई योजना रहेको कार्यालयले जनाएको छ । रिसिङ गाउँपालिकामा वडा नम्बर ५ स्थित रुपटार भुमिगत सिंचाई योजना रहेको छ ।

उपभोक्ताको लागत सहभागितामा योजना सञ्चालन गरिने भएकोले उपभोक्ताबाट १० प्रतिशत रकम जम्मा वा सो सरहको जनश्राम हुनु पर्ने कार्यालयले जनाएको छ । स्थानीयबाट आएको विभिन्न मागहरु मध्ये प्राविधिकहरुले मूल्याङ्कन गरी ती योजनाहरु छनोट गरिएको कार्यालयका इन्जिनियर सागर भट्टराईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?