logo
२०८१ बैशाख ८ शनिवार



वर्षा लम्बिने सम्भावना

खुला |


वर्षा लम्बिने सम्भावना


चाँदनी हमाल

काठमाडौँ, असोज १ गते । नेपालमा मनसुन अन्त्यको मिति नजिकिँदै गर्दा मङ्गलबार बिहानै देशका विभिन्न नदी तटीय क्षेत्रमा बाढीको सम्भावना औँल्याउँदै बाढी पूर्वानुमान महाशाखाले सन्देश पठाएको छ । कोसी नदी चतरा क्षेत्रमा जलसतहले सतर्कता तह पार गरेकोले सुनसरी र सप्तरी जिल्लामा उच्च सतर्कता अपनाउन भन्दै नेपाल टेलिकमले सन्देश पठाएको हो ।
त्यस्तैगरी चितवनको माडीको रिउ र राप्ती नदी बढेकोले नजिकका बस्तीमा बाढी पस्न सक्ने भएकाले सतर्कता अपनाउन भन्दै बिहानै १० हजार मोबाइलमा सन्देश पुग्यो । नवलपरासीको डण्डा, गिरुबारी क्षेत्रमा नारायणी नदीको बहाव उच्च भएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भन्दै ३५ हजारलाई सन्देश पठाइयो । त्यसैगरी रुपन्देहीको सूर्यपूरा क्षेत्रमा चार हजार ५०० सन्देश बिहानै पुग्यो ।
बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले भन्नुभयो, “पहाडी भेगमा बढी पानी पर्दा तराईको बारा, पर्सा आसपासका क्षेत्रमा बाढी र डुबानको खतरा फेरि बढेको छ । नारायणी र गण्डकी आसपासका नदी तटीय क्षेत्र पनि बाढीको खतरामा पर्ने देखिएको छ । ” प्रदेश ४ को पहाडी भेगमा लगातार वर्षाका कारण पहिरोको उच्च जोखिम रहेकाले सतर्क रहन उहाँले अपिल गर्नुभयो ।
मनसुनी क्यालेन्डरअनुसार नेपालमा यस वर्षको मनसुन सकिन अब छ दिन मात्र बाँकी छ । तर, दशैँसम्म नै वर्षा रहने छाँट मनसुनी गतिविधिले देखाएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् समीर श्रेष्ठले भन्नुभयो, “भारतको मध्यक्षेत्रमा रहेको मनसुनी न्यूनचापीय रेखा उत्तरतिर सर्दै पूर्वी र मध्य नेपाल नजिक आइपुगेकोले यसरी वर्षा बढेको हो, यसले मनसुन नेपालमा अझ पछाडि सर्ने छाँट देखाएको छ । ” उहाँका अनुसार यस वर्षको मनसुन दशैँसम्म यथावत् रहने अनुमान छ ।
केही दिनयता लगातार भइरहेको वर्षाको कारक पनि न्यूनचापीय रेखा नेपालतिर लम्कनु र स्थानीय न्यूनचापीय रेखा सिर्जना भएर थपथाप हुनु रहेको उहाँ उल्लेख गर्नुहुन्छ ।
यसअघि जुलाई र अगस्टमा केही दिन हालकोझैँ भारी वर्षा भएको थियो । त्यसैको कारण तराईमा बाढी र पहाडका विभिन्न क्षेत्रमा पहिरो गएको थियो ।
महाशाखाका अनुसार काठमाडौँ, चितवन, नवलपरासीलगायत मध्य र पूर्वका अधिकांश भूभाग, पश्चिमको पोखरा, अर्घाखाँची, रुपन्देहीलगायतका क्षेत्रमा सोमबारदेखि नै वर्षा हुने क्रम जारी छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार बिहीबारदेखि भने वर्षाको मौसममा केही सुधार आउने छ । “केही क्षेत्रमा विगत तीनदेखि छ घण्टासम्म पनि अविरल वर्षा भइरहेकोले स्थानीय नदीको जलसतह बढ्ने क्रममा रहेको छ”, उहाँले थप्नुभयो, “अझै केही क्षेत्रमा भारी वर्षा हुने क्रम दुई दिन
जारी रहने छ । ”
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?