logo
२०८१ बैशाख ७ शुक्रवार



युवा परिचालन बारे छलफल

खुला |


युवा परिचालन बारे छलफल


सविता शर्मा, भदौ २५ गते । राष्ट्रिय युवा परिषद्ले विभिन्न १० विषयमा केन्द्रित रहेर युवा परिचालन वर्षको कार्यक्रम सञ्चालन गर्ने भएको छ । चालू आर्थिक वर्षको बजेटमा उक्त कार्यक्रम घोषणा गरिएको थियो ।

नेपाल सरकारले पहिलो पटक युवा परिचालन वर्ष घोषणा गरेको हो । युवा स्वयंसेवालाई बढाउने र विविध विषयमा जनचेतना जगाउन युवा परिचालन गर्ने सोंचका साथ युवा परिचालन वर्ष घोषणा गरिएको हो ।

परिषद्ले कृषि उत्पादनमा, पर्यटन प्रवद्र्धन, सार्वजनिक शिक्षाको सबलीकरण, वातावरण संरक्षण, सामाजिक विकृति विरुद्ध, उद्यमशिलता प्रवद्र्धन, सुशासन प्रवद्र्धन, विपद व्यवस्थापन तथा स्वयंसेवकीय कार्य, परम्परागत सीपको विकास तथा संरक्षण र स्वास्थ्य तथा खेल सचेतनामा युवा परिचालन गर्ने तयारी गरेको हो ।

परिषद्ले विषयगत समूह गठन गरेर परिचालनको तयारी गरेको छ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले युथ भिजन २०२५ का युवा विकासका पाँच आधारस्तम्भमा आधारित रहेर युवा परिचालनका विषय छनौट गरिएको बताउनुभयो । उहाँले बेग्ला बेग्लै विषयगत समूह निर्माण गरेर युवा परिचालन गरिने जानकारी दिनुभयो ।

परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुङ्गानाले युवा परिचालनको कार्यक्रम विपद् व्यवस्थापनमा बढी केन्द्रित रहने जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको बजेटमा युवाको जाँगर, समृद्धिको आधारलाई सार्थक तुल्याउन युवा परिचालनको वर्षको रुपमा मनाइने उल्लेख छ । बजेटमा यो अभियान मार्फत् लैङ्गिक, जातीय र छुवाछुतलगायत सामाजिक विभेदको अन्त्य गर्न जनचेतना जगाउनेजस्ता कार्य गरिनेछ भनी उल्लेख गरिएको छ । संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा शैक्षिक संस्था, नेपाल स्काउट, राष्ट्रिय युवा परिषद् र विभिन्न गैरसरकारी संस्थाहरुबाट युवा परिचालन मार्फत् मानवीय सेवा, विपद् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षारोपण जस्ता कार्य गरिनेछ भनी बजेटमा उल्लेख गरिएको छ ।

युवा परिचालन वर्षको कार्यक्रमलाई मूर्तरुप दिन परिषद्ले सरोकारवाला पक्षसँग छलफल शुरु गरेको छ । परिषद्ले युवा परिचालनको ढाँचा निर्माण, परिचालने हुने विषय समूहहरुको निर्माण र जिम्मेवारी, यसका लागि कार्य विवरण, कार्यविधि र युवा परिचालनको एकीकृत कार्ययोजना निर्माणका लागि सरोकारवाला पक्षसँग मङ्गलबार छलफल गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?