logo
२०८० चैत्र १५ बिहीवार



मौसमी ज्वरोका बिरामी बढे

स्वास्थ्य |
प्रदेश |


मौसमी ज्वरोका बिरामी बढे


सुरेन्द्र खत्री,
रुकुम (पश्चिम), भदौ २३ गते । रुकुम पश्चिममा मौसमी ज्वरोका बिरामीहरु बढेका छन् । मौसमी ज्वरोको प्रकोप गाउँघरसम्मै फैलिएपछि जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप ह्वात्तै बढेको छ ।
भाईरल ज्वरोका बिरामी बढेपछि जिल्ला अस्पतालमा बिरामीको चाप बढेको अस्पतालका प्रमुख डा. महेश चौलागाईँले बताउनुुभयो । अस्पताल आउने सबैजसो बिरामीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हातखुट्टा दुख्ने र खोकी लाग्ने एउटै लक्षण देखिने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार अस्पतालमा दैनिक २ देखि ३ सय बिरामी आउने गरेका छन् । त्यस्तै आठविसकोट नगरपालिकाको राडीबजार स्थित नगर अस्पतालमा पनि बिरामीको चाप निकै बढेको छ । नगर अस्पतालको ओपीडी सेवामा मात्र दैनिक ८० देखि ९० जना बिरामीहरु आउने गरेको अस्पतालका प्रमुख मणिराज शाहले जानकारी दिनुभयो ।
नगर अस्पतालमा स्थानीयका साथै छिमेकी जिल्ला जाजरकोटबाट समेत बिरामी आउने भएकोले बिरामीको चाप झन बढेको हो । २५ शैयाको यस अस्पतालमा बिरामीको चाप बढेर पूरै शैया भरिएकोले नयाँ भर्ना गर्नुपर्ने बिरामी आएमा समस्या हुने शाहको भनाइ छ । ‘यसमा विशेषगरी भाइरल र टाइफाइडका विरामीहरु बढि देखिएका छन्’ अस्पतालमा भर्ना भएका बिरामीहरु चार÷पाँच दिनपछि मात्र निको भएर फर्कने गरेको उहाँले बताउनुभयो ।
यसैगरी स्थानीय स्तरमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी अस्पताल र मेडीकलमा समेत मौसमी ज्वरोको बिरामीको उत्तिकै चाप रहेको छ । भाईरल ज्वरोबाट बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभाबित भएका छन् । भाईरल ज्वरोको बिरामी बढेपछि गाँउका स्वास्थ्यचौकिहरुमा औषधिको अभाव हुन थालेको बताइएको छ । यता जिल्लामा पनि बिरामीलाई एउटै खालको औषधि दिनुपर्ने भएकोले औषधीको अभाव हुन थालेको जिल्ला अस्पताल स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?