‘घर नभएपछि हामीले यसैगरी जीवन बिताउने हो’

पढ्नै पर्ने |


2019-09-08-1033


शिवकुमार काशी,

हेटौँडा, भदौ २२ गते । पत्थरकट्टा (सिलौटा बनाउने) काम गर्दै आइरहेका ५० बर्षीय सञ्जय शर्माको यो संसारमा आफ्नै छानो छैन । उनलाई थाहा भएका बेलादेखि नै उनी बुवा र हजुरबुवाहरुसँग फिरन्ते नै रहे । अभिभावकहरुले जहाँ लगे, उतै काममा सघाए । अभिभावकहरुको अन्तपछि पनि उनले यही काम गरिरहे ।

पछिल्लो पटक मकवानपुरको मनहरी गाउँपालिका वडा नं ६ लोथरस्थित खोला किनारको फिरन्ते बस्तीमा भेटिएका उनी अस्वस्थ थिए । सिलौटाको ढुंगा झरेर खुट्टामा बज्जारिएपछि उनी लट्ठीको सहारामा दिशापिसाब गर्न जान सक्छन् । १५ दिनजति भयो उनको यस्तो अवस्था भएको ।

सञ्जयसहित श्रीमती, तीनभाई छोरा, एक छोरीसहितको परिवारको बसोबास एउटै त्रिपालमुनि छ । बुवा घाइतेपछि उनका जेठा छोरा राहुल कामको खोजीमा निस्कन्छन्, साँझपख उसैले कमाएर ल्याएको पैसाले किनिएको दाल चामलले उनीहरुको परिवारको प्राण धानिएको छ ।

सञ्जयको परिवारजस्तै ३५ वटा परिवार यस्तैगरी लोथर खोला किनारको छाप्रोमा केही महिनायता बसिरहेको छ । सञ्जयको परिवार बसेको भने २ बर्ष पुग्न लाग्यो । ‘घर नभएपछि हामीले यसैगरी जीवन बिताउने हो’, सञ्जय भन्छन् । बस्तीमा रहेका अन्य परिवार चाहिँ अरु नै काम गर्छन् । उनीहरुमध्ये केहीको भने घर रहेको पाइएको छ । बारा जिल्लाको जीतपुरसिमरा नगरपालिका वडा नं १८ मा उनीहरुको घर रहेको बताउँछन् । दिनभरि औठी, मुगाका गहनाहरु, बनावटी फूल, आयुर्वेदिक औषधीहरु बिक्री गर्ने काममा उनीहरुले आफ्नो समय खर्चिएका छन् ।

बाराबाट आएर लोथरखोलाका किनारमा अस्थायी त्रिपाल टाँगेर बसेकाहरु गाउँमा केही काम नपाएर फिरन्ते जीवन बिताउँदै हिँड्ने गरेको उनीहरु बताउँछन् । दशैँ र छठ पर्वमा उनीहरु आफ्नै गाउँमा जाने र चाड पर्वहरु मनाउने गरेका छन् । बुवासँगै पछ्याएर आएका बाराको मनहर्वास्थित विद्यालयमा कक्षा ४ मा पढ्ने रुपेश बरही पनि बस्तीमै भेटिए । ‘१० दिन भयो स्कूल छाडेर हिँडेको’, अनिलले सुनाए–‘अब फर्कने सोचमा छु ।’

फिरन्ते बस्तीमा न भौतिक पूर्वाधार छ, न अन्य सुविधाहरु नै । जथाभावी दिसापिसाब, खुल्ला भान्सा, खानेपानीको असुविधा जस्ता समस्याहरुले बस्तीलाई गाँजेको छ । बस्तीमा देखिएका सुत्केरी र शिशुको अवस्थाले जोकोहीलाई स्तब्ध बनाउँछ । सञ्जयका छोरा चिन्तु अढाई बर्षका भए । तर उनी न बोल्न सक्छन्, न त हिँड्न नै सक्छन् । ठूलो भूँडी, डरलाग्दो अनुहार र पछाडिको सुकेको भाग हेर्दा अपाङ्गता भएकोजस्तो देखिन्छ । तर, मनहरी गाउँपालिका स्वास्थ्य प्रमुख टिकाराम अधिकारीले खानेकुराका अभावमा कुपोषण भएका कारण बालक अपांङ्गजस्तो भएको बताउनुभयो ।
मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टको पहलमा बालक चिन्तु, उनका बाबु सन्जय र उनका काकालाई उद्धार गरी मनहरी प्राथमिक उपचार केन्द्रमा लगी निःशुल्क उपचार थालिएको छ । प्राथमिक उपचार केन्द्रमा उपचारका क्रममा अढाई बर्षे बालकको तौल ४ किलोग्राम र उचाई ६० सेन्टिमिटर मात्रै थियो ।

अस्तव्यस्त फिरन्ते बस्तीका कारण बालबालिका र महिला अधिकारको क्षेत्रमा भइरहेका क्रियाकलापलाई समेत असर परिरहेकाले सुधारका लागि पहल गरिएको गाउँपालिका उपाध्यक्ष बिष्टले बताउनुभयो । उहाँका अनुसार आगामी मंसीर मसान्तभित्र मनहरी गाउँपालिकालाई बालमैत्री शासन अवलम्बन भएको स्थानीय तहको रुपमा घोषणा हुँदैछ । तर, बाहिरबाट आएका फिरन्ते बस्तीका बालबालिकाहरुले बालमैत्री शासन अवलम्वनका लागि चुनौति थपिदिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?