• १५ मंसिर २०८१, शनिबार

घण्टे देउरालीका पसलमा चरम लापरवाही

blog

बजार अनुगमन गरिँदै । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, कात्तिक ३ गते ।
चाडपर्वसँगै अर्जुन चौपारी गाउँपालिका–५ ले घण्टे देउराली, मुलाबारी, पीपलडाँडामा गरेको बजार अनुगमनमा यहाँका पसलमा चरम लापरवाही भेटिएको छ । पालिकाले पहिलो पटक गरेको गाउँ केन्द्रित बजार अनुगमनमा यहाँको दिपक किराना पसलमा नागरिकले खाने ग्लुकोज नौ वर्षबाट म्याद गुज्रेको भेटिएको हो ।

२०१४ फेब्रुअरीमा छ महिनासम्म प्रयोग गर्न मिल्ने गरी बनाएको ग्लुकोज पसलमा बेच्न राखेको भेटिएको हो । यस्तै, समिर किराना पसलमा सन् २०१२ अक्टुबरमा पाँच वर्ष प्रयोग गर्न मिल्ने गरी बनेको घर रङ्गाउने रङ अहिलेसम्म पसलमा भेटिएको हो ।

यहाँ किराना, हार्डवेयर, खाजाघर, फेन्सी गरी २१ पसल अनुगमन गरिएकोमा आठ वटा मात्र करको दायरामा रहेको भेटिएको पालिका उपाध्यक्ष सपना गुरुङले बताउनुभयो ।

दर्ता भएका पनि अर्जुन चौपारी–५ मा पसल राखेर पर्वतको महाशिला गाउँपालिका–६ मा दर्ता गरेको भेटिएको हो ।

यहाँको मुलाबारीमा रहेको गुप्तबहादुर गुरुङको किराना, मासु, रक्सी रहेको पसल २१ वर्ष पहिला सञ्चालनमा आएर पनि अहिलेसम्म करको दायरामा नआएको भेटिएको हो ।

यस्तै, घण्टे देउरालीमा पार्वती पौडेलको पसलमा किराना, फेन्सी, रक्सी, पेट्रोल, खाजा तथा तरकारी जस्ता सामग्री वर्षौदेखि पसलमा राखिए पनि दर्ता भने नगरेको भेटिएको हो ।

गाउँपालिका, वडा, प्रहरी, उद्योग वाणिज्य सङ्घ, पत्रकारसहितको टोलीले गरेको अनुगमनमा एक महिनामा पसल चलाउनका लागि आवश्यक काम गर्न सुझाव दिएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।

अब निरन्तर बजार अनुगमन हुने र एक महिनामाभित्र पनि पसल चलाउन आवश्यक कानुनी प्रक्रियाहरु सामग्री बिक्री अनुसारको पसल दर्ता, पान, भ्याट दर्ता, मूल्यसूची, बिल, छाप, बोर्ड बनाउने लगायतका काम पूरा नगरे जरिवाना, सामग्री जफत तथा पसल बन्द  गरिने गुरुङको भनाइ थियो ।

उहाँले अबको दुई महिनामा पालिकाभित्रका सबै साना तथा ठूला पसल, घुम्ते पसले सबैलाई कानुनी दायरामा ल्याउने बताउनुभयो । बजार अनुगमनमा यहाँका पसलमा भेटिएका जफत भएका १६ हजार ६९० रुपियाँ बराबरको सामग्री वडा कार्यालयमा ल्याएर नष्ट गरिएको हो ।