सन्तोष सुवेदी
कास्की, असोज २७ गते । पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो ।
एनआरएनएकी अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएयो । सो क्रममा प्रमुख आचार्यले व्यवस्थित सहरभित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताउनुभयो । ‘‘पूर्वाधार निर्माणका लागि मूल्यभन्दा पनि साझेदारी महत्वपूर्ण हो । यो हाम्रो सहर बनाउनका लागि हामी कसरी संयुक्त रूपमा काम गरिरहेका छौँ भन्ने सन्देश पनि हो” उहाँले भन्नुभयो ।
उहाँले पोखराको व्यस्त बजार महेन्द्रपूलमा निर्माण गरिएको अत्यावश्यक आधुनिक प्रविधिजडित सार्वजनिक शौचालयले सबैलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख आचार्यका अनुसार शौचालय दैनिक १८ घण्टासम्म सञ्चालन गरिनेछ । यसबाट उत्पादन हुने बायोग्यासको समेत पूर्ण रूपमा सदुपयोग गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार शौचालय अगाडि वाटर फाउन्टेनसहितको सुन्दर पार्क निर्माण हुनेछ ।
एनआरएनएकी अध्यक्ष तथा मेगा प्रोजेक्ट संयोजक रविना थापाले महेन्द्रपुलमा नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय निर्माणमा साझेदारी गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यसले पोखरा आउने पर्यटकलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्धनमा विशेष योगदान गर्ने उहाँको विश्वास छ ।
भविष्यमा पनि पोखराका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्धनको अभियानमा थप सहकार्यका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो । ‘‘यसलाई विदेशमा रहेका नेपालीले दिएको एक चिनोका रूपमा लिन सक्नुहुन्छ, यो विदेशमा रहँदा आर्जन गरेको ज्ञान सीप र नाङ्गो आँखाले देखेको त्यहाँको विकासको एक नमुना हो’’ अध्यक्ष थापाले भन्नुभयो, ‘‘मातृभूमिको प्रेमका खातिर सरकारी प्रक्रियाको जटिलताका बाबजुद यो पोखराले ग्रहण गरेको एनआरएनएको हार्दिकता र पूर्वाधार निर्माणमा एक असल साझेदारीको प्रतीक हो ।’’ अध्यक्ष थापाले यसको व्यवस्थापन र सञ्चालनमा नागरिकहरूको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो ।
महेन्द्रपुलको उत्तरतर्फ ५ आना क्षेत्रफलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको हो । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गरेको छ । शौचालय निर्माणका लागि एनआरएनएले ६० लाख रुपियाँ उपलब्ध गराएको छ । पार्क निर्माणका लागि थप २० लाख प्रदान गरिने जनाएको छ । बाँकी खर्चको व्यवस्थापन पोखरा महानगरपालिकाले बेहोर्नेछ । शौचालय लाखे विल्डर्स नेपाल प्रालिले निर्माणको जिम्मा पाएको थियो । यसको ड्रोइङ र डिजाइनको काम सर्ग आर्किटेक प्रालिले निःशुल्क रुपमा गरेको छ ।
हाल पोखरा महानगरपालिकामा १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू छन् ।