काठमाडौँ, असोज ११ गते । टोखा नगरपालिकाले आर्थिक रूपमा सक्षम हुने उद्देश्यले एक हप्तासम्म राजस्व सप्ताह मनाउने भएको छ । असोज १४ देखि २१ गतेसम्म नगरपालिकाले राजस्व सप्ताह आयोजना गर्न लागेको हो ।
नगरपालिका प्रमुख प्रकाश अधिकारीले नगरपालिकाको आन्तरिक स्रोत वृद्वि गरी करको दायरालाई फराकिलो बनाउनका लागि राजस्व सप्ताह आयोजना गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार नागरिकलाई कर स्वेच्छाले तिर्न उप्रेरित गर्ने गरी आगामी १४ गते बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरी कर सप्ताहको शुभारम्भ गरिने छ ।
अहिले पनि नगरपालिकाको कुल बजेटको करिब ७७ प्रतिशत बजेट सङ्घीय सरकारसँग भर पर्नुपर्ने अवस्था रहेको छ । नगरपालिकाले गत आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा ५०, व्यावसायिक करमा ३३, घरबहाल करमा १६ र अन्य शीर्षकमा १० प्रतिशत गरी कुल २४ करोड ५२ लाख रुपियाँ राजस्व सङ्कलन गरेको नगरपालिकाले जनाएको छ ।